Friday, 11 October 2013
Wednesday, 4 September 2013
नाकाबन्दी इतिहास
२०४६ सालको राजनीतिक परिवर्तन तीसवर्षे पञ्चायती व्यवस्थाविरुद्ध नेपाली जनताको असन्तोषको र जनतामा पसेको राजनीतिक चेतनाको परिणाम थियो । पञ्चायती सत्ताको नजिक रहेकाहरू त्यो परिवर्तनका पछाडि भारतले नेपालमाथि लगाएको नाकाबन्दी ठूलो भूमिका खेलेको ठान्छन् ।
वाणिज्य तथा पारवहन सन्धिको म्याद गुज्रेको भन्दै भारतले लगाएको १८ महिने नाकाबन्दीका कारण अत्यावश्यक वस्तु खासगरी पेट्रोलियम पदार्थको बजारमा हाहाकार थियो । एलपी ग्यास आमप्रचलनमा आइनसकेको त्यति बेला चुल्हो बाल्नका लागि मट्टीतेलको लाइन लामो हुन थालेको थियो । त्यसबाहेक नुन र कोइलाको पनि उत्तिकै अभाव । त्यति बेला सप्तरी पुग्दा प्रधानपञ्चले गाउँलेलाई भेला गराई कागजको चिर्कटोमा मट्टीतेलको सिफारिस बाँडेको देखेका लेखक सौरभ पहाडी क्ष्ाेत्रमा भएको हाहाकार सहजै अनुमान लगाउन सकिने बताउँछन् । कोइला अभावका कारण त्यसबाट चल्ने उद्योगहरू प्रायः सबै बन्द हुन पुगेका थिए ।
तीसवर्षे पञ्चायती शासनको अन्त्यतिरको त्यो बेला मरिचमान सरकार हवाइजहाजमा पेट्रोलियम पदार्थ ओसारेर पनि जनताको असन्तुष्टि सडकमा पोखिन नदिन कसरत गरिरहेको थियो । त्यसैबीच सचिव दामोदर गौतमको नेतृत्वमा एउटा टोली वैकल्पिक व्यवस्थाका लागि चिनियाँ अधिकारीहरूसँग कुरा गर्न ल्हासा पुगेको पूर्वप्रशासक दुर्गाप्रकाश पाण्डेले आफ्नो पुस्तक 'सरकारी सेवाको अनुभव' मा उल्लेख गरेका छन् । तर, चीनको मुख्य भूमि -म्यानल्यान्ड चाइना) बाट पाँच इन्चको पाइपबाट ल्हासालगायतका भूभागमा पेट्रोलियम पदार्थको आपूर्ति गरिएको र मुस्ताङसमेत करिब ४०० किमि दूरीमा रहेको तथा बाटोघाटो पनि पुगिनसकेकाले तत्काल तिब्बतबाट अत्यावश्यक वस्तुहरू आपूर्ति गर्न सम्भव नहुने जवाफ चिनियाँ पक्षले दिएको थियो । पाण्डेले आफ्नो पुस्तकमा चीनले मित्रराष्ट्रका जनतालाई समस्या हुँदाहुँदै पनि पूर्वाधार अभावका कारण सहयोग गर्न आफ्नो असमर्थता जाहेर गरेको लेखेका छन् । पाण्डे लेख्छन्, 'बंगलादेशबाट ल्याउन सकिन्छ भनेर पनि प्रयास गरिएको थियो तर, त्यही समस्याले दिएन ।' त्यसैगरी तत्कालका लागि भारतसँग सम्बन्ध नबिगारी काम गर्नु नेपालको अहिलेको बाध्यता भएको भन्ने चीनले नेपाली पक्षलाई भनेको समेत पाण्डेले पुस्तकमा उल्लेख गरेका छन् ।
नाकाबन्दीका कारण नेपाली जनताले सास्ती भोग्नुपरेका समाचारहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आउन थालेपछि भारतमाथि दबाब बढ्दै गयो । बढ्दो दबाबकै कारण तेस्रो मुलुकबाट हुने आयातलाई केही खुकुलो बनाइयो । त्यसबीच पञ्चायतविरुद्ध ठूलो जनमत तयार भइरहेको थियो । पञ्चायत समर्थक शासन जोगाउन लागिरहेका बेला कांग्रेस र कम्युनिस्ट पार्टी मिलेर पञ्चायत ढाल्ने गृहकार्य गरिरहेका थिए । चिराचिरामा विभाजित कम्युनिस्ट पार्टीमध्ये सातवटाले वाममोर्चा बनाएर कांग्रेससँग सहकार्य गर्ने भए । माघको अन्त्यमा गणेशमान सिंहको घरमा फागुन ७ गते सुरु हुने आन्दोलनको घोषणासभा भयो । भारतीय नेता चन्द्रशेखर, हरकिशन सिंह सुरजित, सुव्रमण्यम स्वामीलगायतले आन्दोलनको समर्थनमा भाषण गरे । फागुन ७ गते सुरु भएको आन्दोलनसामु डेढ महिनामा पञ्चायतले घुँडा टेक्यो । प्रजातन्त्र पुनस्र्थापना भएपछि बनेको अन्तरिम सरकारका प्रमुख कृष्णप्रसाद भट्टराईले भारत भ्रमण गरेसँगै नाकाबन्दी सिद्धियो ।
नाकाबन्दी र राजनीतिक परिवर्तनका सम्बन्धमा नेपालका राजनीतिक विश्लेषक र अध्येताहरूमा मतैक्य छैन । एकथरी नाकाबन्दीलाई नै परिवर्तनको प्रमुख कारक ठान्छन् भने अर्काथरी भारतले नाकाबन्दी लगायतका दबाब नदिएको भए पनि नेपाली समाजभित्र सल्किँदै गएको स्वतन्त्रता र परिवर्तनको ज्वालाका सामु पञ्चायती व्यवस्था चार-पाँच वर्षभन्दा बढी टिक्ने थिएन भन्ने निष्कर्ष निकाल्छन् ।
पछिल्लो पंक्तिका विश्लेषकहरूको बुझाइमा नाकाबन्दीकै दौरानमा राजनीतिक परिवर्तन भएका कारण भारतले त्यसको औपचारिक श्रेय लिएको र नेपालको राजनीतिमा उसको हस्तक्षेपको अर्को अध्याय सुरु भएको हो ।
नाकाबन्दी किन ?
छिमेकमा संस्थापनबाहिरको शक्तिलाई संरक्षण गरी राजनीतिक अस्थिरता कायम गर्नु भारतको नीति नै देखिने त्यस बेलाका संचार राज्यमन्त्री कमल थापा बताउँछन् । यसै नीतिअन्तर्गत नेपालमा पनि उसले पञ्चायतविरोधी शक्तिसँग डिल गरिरहेको थियो भन्ने उनको धारणा छ । 'नेपालको संस्थापनसँग ऊ सन्तुष्ट थिएन,' भन्छन्, 'यसका लागि म्याद सकिन लागेको वाणिज्य तथा पारवहन सन्धिलाई बहाना बनाइयो ।'
दुवै पक्षले चाहँदा सन्धि यथास्थितिमा स्वतः नवीकरण हुन्थ्यो । तर भारतले दुई छुट्टाछुट्टै सन्धि गर्ने भन्यो । विभिन्न चरणमा छलफल भए पनि कुरा मिलेन । केही प्रमुख नाका छाडेर अरू नाका बन्द गरियो । त्यही बेला भारतका सञ्चारमाध्यममा राजसंस्थाविरोधी खबर शृंखलाबद्ध प्रकाशन हुनुले पनि भारतको नियत अर्कै थियो भन्ने पुष्टि भएको थापाको जिकिर छ ।
लेखक एवं विश्लेषक सौरभका अनुसार देखिने कारण वाणिज्य तथा पारवहन सन्धिको नवीकरण भए पनि 'थुप्रै नदेखाइएका कारण थिए' भन्छन् । 'वास्तवमा नदेखाइएका कारणकै कारण नाकाबन्दी लगाइएको थियो,' उनी भन्छन् । राजा वीरेन्द्रले शान्ति क्षेत्र घोषित गरियोस् भनेर अन्तर्राष्ट्रिय समुदायसँग प्रस्ताव राखेको भारतलाई चित्त बुझेको थिएन । पाकिस्तानले अनाक्रमण सन्धिको प्रस्ताव गरेकै बेला नेपालको यस्तो प्रस्तावले भारतलाई चिढ्याएको थियो । फेरि शान्ति क्षेत्रको प्रस्तावमा समर्थन जुटाउन गरेको कसरतले ऊ थप चिढिएको थियो । चीनलगायतका देशले नेपालको प्रस्तावमा समर्थन जनाएका थिए । राजाले समर्थन जुटाउनकै लागि युरोप भ्रमण गरेका थिए । 'शान्ति क्षेत्र प्रस्तावमा अरूको समर्थन लिएर भारतमाथि दबाव सिर्जना गरिरहेको भन्ने दिल्लीलाई लागेको थियो,' सौरभ भन्छन् ।
यसै बेला नेपालले चीनसँग विमानभेदी -एन्टी एयरक्राफ्ट गन) हतियार ल्याएपछि भारत झन् चिढियो । तत्कालीन सञ्चारमन्त्री कमल थापा हतियार खरिदका लागि भारतसँगै प्रस्ताव राखिएको र उसले असमर्थता जनाएपछि मात्र चीनलगायतका मुलुकबाट खरिद गरिएको बताउँछन् । त्यति बेला पनि केही हतियार चीनबाट खरिद गरे पनि अरू मुलुकबाट पनि खरिद गरिएको थियो भन्छन् ।
दरबारका तत्कालीन संवाद सचिव चिरनशमशेर थापाका अनुसार त्यसको ४ वर्षअघि पनि नेपालले तत्कालीन सोभियत संघबाट हतियार खरिद गरेको थियो । 'भारतको सहमति लिनुपर्छ भन्दा रसियनले त्यसको चिन्ता नगर, हामी कुरा मिलाउँछौं भनेका थिए,' उनी भन्छन्, 'तैपनि हामीले रसियाबाट सूचीसहित हतियार ल्याउन लागेको जानकारी गराएका थियौं ।' तर चीनबाट तातोपानी नाका हुँदै हतियार ल्याउँदा भारतीय भूमि प्रयोग गर्न नपर्ने भएकाले जानकारी गराउन आवश्यक नठानिएको उनी बताउँछन् । 'तर यसमा भारत असन्तुष्ट भयो,' उनी भन्छन् । नेपालले ल्याएको हतियार अफेन्सिभ नभई डिफेन्सिभमात्र भएकाले भारतले चिन्ता लिनुपर्ने कारण थिएन भन्ने उनलाई लाग्छ ।
त्यति बेलाका दुई नितान्त व्यक्तिगत कुराले पनि तत्कालीन प्रधानमन्त्री राजीव गान्धी चिढिएको भनाइ छ । राजीव गान्धी नेपाल भ्रमणमा रहेका बेला पशुपतिनाथ दर्शन गर्न गएका थिए । तर, उनकी पत्नी सोनिया गान्धीलाई विदेशी भन्दै मन्दिर प्रवेशमा रोक लगाइएको थियो । त्यति बेलाका भारतीय राजदूत श्रीनिवास सिन्हाले गत वैशाख २८ गते नेपाली भाषाको दैनिकलाई अन्तरवार्तामा भनेका छन्, 'सानो विषयलाई लिएर राजा वीरेन्द्र र राजीव गान्धीबीच फाटो उत्पन्न भयो ।' मन्दिरको मूलढोकामा हिन्दुका लागि मात्र प्रवेश लेखिएको थियो । नेपाली मन्दिरका अधिकारीले नम्र भाषामा राजीवलाई भनेका रहेछन्, 'माफ गर्नुहोला हामी नियमविपरीत जान सक्तैनौं । तर मूलढोकामा आइसकेका राजीवलाई चित्त दुःखेछ ।' थापाका अनुसार सोनिया गान्धीले पहिले नै मन्दिर जाने इच्छा व्यक्त गरेकी थिइन् । र, पशुपति मन्दिरको ढोकैमा हिन्दुका लागि मात्र प्रवेश लेखिएको छ भन्ने कुरा उनलाई बताइएको थियो ।
तत्कालीन राजदूत सिन्हाका अनुसार लगत्तै इस्लामावादमा राजीवले नेपालको राजनीतिक विषयलाई लिएर केही छलफल गर्ने आशयले राजा वीरेन्द्रलाई ब्रेकफास्ट मिटिङमा निम्त्याएका रहेछन् । तर मर्यादाक्रम नमिल्ने भन्दै वीरेन्द्रले उल्टै आफूकहाँ आउन भने । यस्ता ससाना कुराले दुई देशको सम्बन्ध बिगि्रन सुरु भयो । त्यसपछि पनि राजीवले दिल्लीबाट टेलिफोनमार्फत कुरा गर्न खोजेका थिए । तर वीरेन्द्रले फेरि मर्यादाक्रमको कुरा उठाउँदै भनेछन्, 'मैले राष्ट्रपतिसँग कुरा गर्न मिल्छ, प्रधानमन्त्रीसँग मिल्दैन ।' यी दुई घटनाले राजा-गान्धीबीच व्यक्तित्वको टकराव सुरु भएको सौरभ बताउँछन् ।
एमाले नेता घनश्याम भुसाल भने यस्ता व्यक्तिगत टकरावभन्दा पनि नेपाल भारतको संरक्षित मुलुक बन्ने कि सार्वभौम/स्वतन्त्र मुलुक बन्ने २००७ सालदेखि जारी विरोधाभासकै बीच उक्त नाकाबन्दी भएको बताउँछन् । 'त्यो बहानामा नगरेको भए अरू कुनै बहानामा नेपाललाई अप्ठ्यारो पार्ने काम भइछाड्थ्यो,' उनको दाबी छ ।
सौरभका अनुसार त्यति बेला नेपाल आफ्नो स्ट्यान्डिङ पावर -युद्धमा बढी समय टिक्ने क्षमता) बढाउने योजनामा थियो । भारतीय फाइटर जहाज बेलाबेला सीमा कटेर तराईसम्म आइपुग्थे । बागडोगराबाट उडेको फाइटरले विराटनगर परिक्रमा गरेपछि हल्लीखल्ली भएको थियो । त्यही क्रममा एन्टी एयरक्राफ्ट गन ल्याएर महाभारत रेन्जको ब्यारेकहरूमा राखिएको हो । यस्तै त्ात्कालीन शाही नेपाली सेनाको संख्या पनि डेढ लाख पुर्याउने कुरा चलिरहेको थियो । एक सैनिक अधिकृतका अनुसार त्यति बेला नेपालले ल्याएको एडी गन भारतसँग रहेको भन्दा आधुनिक थियो । पूर्व-पश्चिम राजमार्गको कोहलपुर-वनवासा खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई दिइएकोमा पनि भारतको रहेको बताइन्छ । नाकाबन्दी र आन्दोलनको कारण पञ्चायत अप्ठ्यारोमा परेका बेला भारतीय परराष्ट्र सचिव एसके सिंह सन्धिको मस्यौदा बोकेर काठमाडौं आइपुगेका थिए । त्यही समयमा परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले राजीनामा गरेका थिए । दरबारले यो सन्धिलाई अस्वीकार गर्यो । प्रधानमन्त्री मरिचमान सिंहले मन्त्रीहरूलाई सन्धिलाई अस्वीकार गरिने जानकारी गराए । प्रमुख नाका खुला भएकाले नाकाबन्दीकै कारण नेपालको आपूर्ति व्यवस्था प्रभावित हुनेवाला थिएन । 'तर भारतीय सरकारी स्वामित्वका उत्पादकले नेपाललाई उत्पादन बिक्री गर्न रोक लगाइएकाले समस्या भयो,' पूर्वसचिव रामेश्वर खनाल भन्छन् । भारतीय आयल निगमले पेट्रोलियम बिक्री नगर्दा पेट्रोलियम पदार्थको हाहाकार भयो ।
नाकाबन्दी रहेको एक वर्षभन्दा बढी अवधिमा नेपालले अत्यावश्यक वस्तु आयात गर्ने वैकल्पिक बाटो खोजी गर्नका साथै वैकल्पिक ऊर्जा -वायुलगायत) को अनुसन्धान पनि अघि बढाएको थियो । 'वैकल्पिक ऊर्जामा अनुसन्धान जारी राखेको भए त्यो नाकाबन्दी नेपालका लागि उपलब्धिमूलक हुन्थ्यो,' सौरभ भन्छन् ।
के हुन्थ्यो त ?
केही वर्षअघि सेनाको भैंसे ब्यारेकमा एअर डिफेन्स गन देखाउँदै त्यहाँका कमान्डरले भनेका थिए- नेपालमा प्रजातन्त्र ल्याउने हतियार यही हो । 'यही हतियारको कारण भारतले नाकाबन्दी लगायो, त्यही नाकाबन्दीका अत्यावश्यक वस्तुको अभावका कारण जनता सडकमा उत्रिए, अनि पञ्चायत ढल्यो,' उनको विश्लेषण थियो ।
पञ्चायतविरोधी आन्दोलन सुरु हुनुअगावै नेपाल-भारतबीच विवाद सुरु भइसकेको थियो । नाकाबन्दीकै बीच राजनीतिक आन्दोलन सुरु भयो । कांग्रेस-वाममोर्चा गठबन्धनले सुरु गरेको आन्दोलनले मुलुकमा प्रजातन्त्र ल्यायो । तर उक्त नाकाबन्दी नहुँदो हो त के हुन्थ्यो ? विश्लेषक सौरभ भन्छन्, 'तैपनि पञ्चायतको आयु थप ४/५ वर्षभन्दा बढी लम्मिन्थेन ।' पञ्चायतमा भ्रष्टाचार चरममा पुगेको थियो । उनका अनुसार महेन्द्रले पनि आफ्ना विश्वासपात्रको भ्रष्टाचारमा आँखा चिम्लिदिने गर्थे । तर पञ्चायतको पछिल्लो कालमा त हरेक कुरामा दरबारको महत्त्वपूर्ण सदस्यलाई कमिसन खुवाउनुपर्ने भएको थियो ।
सञ्चारको विकासका कारण पनि पञ्चायत टिक्थेन भन्ने उनको भनाइ छ । २०४२ सालमा टेलिभिजन आयो । जनताले रोमानियाका राष्ट्रपति निकोलाई चाउचेस्कुलाई मारेको दृश्य टेलिभिजनमा हेरे । सञ्चारको यस्तो विकास भइरहेका बेला भ्रष्ट निरंकुश सत्ता धेरै दिन चल्थेन भन्ने सौरभको विश्लेषण छ । तर, त्यही बेला नाकाबन्दी भएकाले आन्दोलनपछि आएको व्यवस्थामा भारतीय हस्तक्षेप बढेको उनी बताउँछन् । 'यदि विशुद्ध आन्तरिक कारणबाट उठेको आन्दोलन भएको भए भारतले हस्तक्षेप गर्ने अवस्था हुन्थेन कि' भन्ने उनको भनाइ । ठीक यसैगरी भारतीय मध्यस्थतामा भएको बाह्रबुँदे सम्झौतामा दोस्रो जनआन्दोलन भएकाले भारतीय हस्तक्षेप झन् बढेको उनी बताउँछन् । यसअघि २००७ को राणा-कांग्रेस सम्झौता पनि दिल्लीमै भएको थियो ।
पूर्वसचिव खनालको बुझाइमा तत्कालीन मालेले मदन भण्डारीको नेतृत्वमा बहुदलीय लोकतन्त्र स्विकारेकाले पनि प्रजातन्त्रको पक्षमा जबर्जस्त माहोल बन्दै गएको थियो । जनतामा प्रजातन्त्र चाहिन्छ भन्ने भावना प्रवल भन्दै गए पनि राजसंस्था २०३६ सालको जनमतसंग्रहको आडमा हामी लोकपि्रय छौं भन्ने भ्रममा थियो । तर, वास्तविकतामा जुनसुकै बेला जनता सडकमा उत्रिने अवस्था तयार भइसकेको थियो ।
'त्यति बेलाको राजनीतिक अवस्थालाई अर्थराजनीतिक आँखाले हेर्दा पञ्चायतमाथि कुनै न कुनै संकट आइपर्ने निश्चित नै थियो,' एमाले नेता घनश्याम भुसाल भन्छन् । भुक्तानी असन्तुलनको संकट टार्न चार वर्षअघि नै नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोषको संरचनात्मक समायोजन कार्यक्रमलाई स्विकारेर वित्तीय उदारीकरण सुरु गर्न बाध्य भएको थियो । उदारीकरणको नीतिअनुसार राजसंस्था खुकुलो हुँदै जानपथ्र्यो तर राजसंस्था यसका लागि तयार थिएन । 'यस्तै विरोधाभासका बीच पञ्चायतको अन्त्य अवश्यम्भावी थियो,' उनी भन्छन् । अर्को कुरा मुलुकमा उदीयमान मध्यमवर्गको कारण राजसंस्थाको शक्तिको परम्परागत स्रोत जमिनदार वर्ग कमजोर हुँदै थियो । फेरि बीपीको निधनपछि राजासँग सहकार्य गर्ने गिरिजाप्रसाद कोइरालाको नीति फेल भइसकेको थियो । आन्दोलन गर्ने पक्ष्ाका गणेशमान र कृष्णप्रसाद भट्टराई पार्टीमा हावी भइरहेका थिए । अनेरास्ववियु र नेविसंघ पञ्चायतको विरुद्धमा एकै ठाउँमा आउन सुरु भइसकेको थियो । यी सबै मिलेर दिएको धक्कालाई धान्न सक्ने अवस्थामा दरबार थिएन । Source Ekantipur
Friday, 30 August 2013
मह खाँदै सरिता गिरीको अनशन
नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरी रत्नपार्कस्थित शान्तिबाटिकमा अनशन बस्न थालेको बिहीबार सत्रौँ दिन भएको छ । तर, उनको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य छ ।बिहीबार बेलुकी गिरीको अनशनस्थलमा पुग्दा उनी पल्टिरहेकी थिइन् भने अगाडि राखिएका कुर्सीमा तीन–चारजना कार्यकर्ता उँघिरहेका थिए । पत्रकार आएको थाहा पाउनासाथ गिरी चल्मलाउँदै उठेर बसिन् । उनलाई देख्दा १७ दिनदेखि केही नखाएको ज्यान हो भनेर पत्याउन मुस्किल पथ्र्यो । उनले करिब आधा घन्टा सहज रूपमा हामीसित कुराकानी गरिन् यत्तिका दिनसम्म भोकै बस्दा पनि तपाईं त तगडा हुनुहुँदो रहेछ ? के हो यसको रहस्य ? ‘मह’ नहिच्किचाई उनले जवाफ दिइन्, ‘म बिहान–बिहान पानीमा हालेर मह खान्छु । त्यसैको कमाल हो ।’
आमरण अनशनमा पनि मह खान मिल्छ ? ‘यो आमरण अनशन होइन,’ उनले पछाडि रहेको ब्यानर देखाउँदै भनिन्, ‘अनिश्चितकालीन अनशन हो । यसमा मह खान मिल्छ ।’बिहीबार नै चिकित्सकको टोली आएर उनको स्वास्थ्य परीक्षण गरेको छ । ब्लडप्रेसर केही बढेकोबाहेक अरू सबै सामान्य देखिएको गिरीले जानकारी दिइन् । ‘कहिलेकाहीँ अलिअलि रिँगटा लाग्छ, अरू सामान्य छ,’ उनले भनिन् ।रातिराति खानुहुन्छ भन्ने बाहिर हल्ला छ नि भन्ने जिज्ञासापछि अनुहारको भाव फेर्दै गिरीले प्रतिप्रश्न गरिन्, ‘यो कसले चलाएको हल्ला हो, तपाईंलाई थाहा छ ?’ फेरि आफैँ जवाफ दिइन्, ‘राजेन्द्र महतोले । उहाँ अनशन बस्दा चार दिनमै अस्पताल पुग्नुभएको थियो । म सत्र दिनसम्म पनि यसरी डटेर बसेको देखेपछि यस्तो हल्ला फैलाउनुभएको हो ।’
अनशनको दशौँ दिनपछि मात्र आफूले मह खान थालेको गिरीको भनाइ छ । ‘राज्यले मलाई यहाँबाट उठाइ अस्पतालमा भर्ना गरेर छाडिदिने षड्यन्त्र गरेको रहेछ,’ उनले भनिन्, ‘त्यो थाहा पाएर मैले पनि राज्यको षड्यन्त्र असफल पार्न यो तरिका अपनाएकी हुँ ।’
अनशनको नौ–दश दिनपछि भोकले पेट दुखेर खपिनसक्नुभएको र त्यसपछि बेहोस भएर ढल्नुभन्दा मह खाएर आफ्नो ‘हेल्थ मेन्टेन’ गर्न ठीक लागेको उनी बताउँछिन् । महले आफ्नो मस्तिष्क, हृदय र मिर्गौला स्वस्थ राख्न सहयोग गरेको पनि गिरीले उल्लेख गरिन् । यसका साथै नियमित योगाले पनि आफूलाई सहयोग पुगेको उनको अनुभव छ ।गिरीको अनशनप्रति अहिलेसम्म कसैले खासै चासो दिएका छैनन् । सरकारले वार्ताका लागि बुधबार एउटा पत्र पठाएको थियो, तर अनशन तोडेर मात्रै वार्तामा बस्नुपर्ने सर्त राखिएको छ । त्यस्तो सर्त आफूलाई मञ्जुर नभएको गिरी बताउँछिन् । सरकारसँग वार्ता गर्न गिरीले रामवरण यादवको नेतृत्वमा सात सदस्यीय वार्ता समिति बनाए पनि त्यही सर्तका कारण वार्ता हुन सकेको छैन । अनशन जारी राखेरै वार्ता गर्नुपर्ने गिरीको अडान छ ।गिरीले उच्चस्तरीय राजनीतिक समितिका सदस्यहरू एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस सभापति सुशील कोइराला, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई व्यक्तिगत रूपमा छुट्टाछुट्टै पत्र लेखेर आफ्ना माग सम्बोधन गर्न आग्रह गरेको बताइन् । तर, दलहरूले अहिलेसम्म त्यति चासो नदिएको उनले बताइन् । उनले शुक्रबार राष्ट्रपति डा. रामवरण यादवलाई पत्र पठाउने तयारी गरेकी छिन् ।आफ्नो अनशनलाई मूलधारका मिडियाले समेत चासो नदिएको भन्दै गिरीले दुखेसो गरिन् । ‘नेपालका मिडियाहरू पनि राजनीतिक स्वार्थबाट प्रेरित छन्,’ उनले आरोप लगाइन्, ‘त्यसैले मेरो लडाइँमा उनीहरूले ध्यान दिएका छैनन् ।’
के छन् गिरीका माग ?
मधेसमा वृद्धि भएको जनसंख्याको अनुपातमा क्षेत्र निर्धारण हुनुपर्ने, मतदाता सूची अद्यावधिक गर्न समय थप्नुपर्ने, सिरहाको सारश्वरमा भएको दंगाबाट विस्थापितलाई पुनस्र्थापना गर्नुपर्ने मागलाई गिरीले प्रमुख रूपमा उठाएकी छिन् । यी तीन माग पूरा नभएसम्म अनशन नतोड्ने उनको अडान छ । यसबाहेक २७ वटा माग लेखिएको पर्चा पनि अनशनस्थलमा छरिएका छन् । जसमा विदेशमा बस्ने ५० लाख नागरिकका लागि संविधानसभा चुनावमा अनलाइन भोटिङको व्यवस्था गर्नुपर्नेदेखि स्थानीय निकायको चुनाव तत्कालै गराइनुपर्नेसम्म छन् ।
यस्ता माग पनि छन्
– हिन्दी भाषालाई राष्ट्रिय भाषा र धोतीकुर्तालाई राष्ट्रिय पोसाकको दर्जा दिनुपर्छ
– २० हजार किलोमिटरको हुलाकी सडकको नाम गजेन्द्रनारायण सिंह जनमार्ग राखिनुपर्छ
– राजस्व अनुसन्धान विभागलाई अनुसन्धानका क्रममा कर छलेको आशंका लागेको व्यक्तिले हुलहुज्जत गरेमा वा भाग्ने प्रयास गरेमा गोली हान्नसक्ने अधिकार दिइएको आदेश खारेज गर्नुपर्छ
– पिसिएफ शिक्षकहरूको तलब मासिक आठ हजार रुपैयाँ पुर्याइनुपर्छ र बालविकास सहजकर्ताको तलब पनि बढाइनुपर्छ
– कृषिबाली उत्पादनका लागि दिइने ऋणको ब्याजदर ५० प्रतिशतका दरले घटाइनुपर्छ
– मंसिर ४ गतेको संविधानसभा चुनाव मौसमका कारण उपयुक्त नभएकाले सार्नुपर्छ
सय ग्राम महले पुग्छ
डा. उमा कोइराला (पोषणविद्)
मह मानव स्वास्थ्यका लागि निकै लाभदायक र गुणकारी खाद्य पदार्थ हो । पर्याप्त कार्बोहाइड्रेड र भिटामिन हुने भएकाले तत्काल शरीरमा तागत ल्याउन यसको प्रयोग लाभदायक हुन्छ । सय ग्राम महमा ९४ प्रतिशत कार्बोहाइड्रेड र बाँकी भिटामिन तथा मिनरल्स पाइन्छ । यदि कोही व्यक्तिले अरू कुनै खाद्य पदार्थ नखाई मह मात्रै खान सक्यो भने पनि ऊ शारीरिक रूपमा कमजोर हुँदैन । दिनमा कुनै पनि शारीरिक श्रम नगर्ने व्यक्तिका लागि सय ग्राम मह पर्याप्त हुन आउँछ । त्यसले शरीरका लागि आवश्यक सबैखाले तत्त्व प्राप्त गर्छ । मह खानाले कमजोरीपन हराउँछ । र यो अडिलो पनि हुन्छ । महमा ग्लुकोजको मात्रा निकै बढी हुन्छ । बिरामीका वेला कमजोरी हटाउन जसरी ग्लुकोज खाने गरिन्छ त्यसैगरी मह मात्रै खाएमा त्योभन्दा बढी इनर्जी शरीरले प्राप्त गर्छ ।
Wednesday, 28 August 2013
Sunday, 25 August 2013
सफ्टवेयर राखेर पनि वेबसाइट र मेसेन्जरहरुमा आउने विज्ञापन रोक्न सकिन्छ
इन्टरनेट चलाउनेहरुलाई विभिन्न वेबसाइट खोल्दा आउने विज्ञापनहरुले हैरान नै पारेको हुनुपर्छ। कम्प्युटर तथा मोबाइलको स्क्रिन नै ढाक्ने गरेर ढकमक्क देखिने विज्ञापनहरुले वेबसाइटमा रहेका सामग्री हेर्न मात्र मुस्किल पार्दैनन् तल माथि र दायाँ बायाँ एकोनास हल्लीरहने विज्ञापनले ध्यान पनि भंग गराउँछन्। यती मात्र होइन वेबसाइट हेर्नेहरुले गल्तीले क्लिक गरोस् भनेर नै सामग्रीहरुको लिंकमा टाँसेरै विज्ञापन राख्नेहरु पनि धेरै छन्। जसले गर्दा तपाइँ आफूले हेर्न चाहेको विषय भन्दा फरक लिंक र ठाउँमा पुग्नुहुन्छ। यसले दिने हैरानी त छँदैछ यस्ता विज्ञापनले तपाइँको इन्टरनेटको गती सुस्तो बनाएर हैरान बनाउँछन्। वेबसाइटहरु धेरै ढिलो खुल्दा तपाइँलाई रिस उठ्नु पनि स्वभाविक नै हो। कतिपय नेपाली वेबसाइटमा छ ठूला ठूला आकारका र पाठकको आँखालाई ख्यालै नगरी डिजाइन गरिएका भद्दा विज्ञापनको संख्या पनि धेरै नै हुन्छ। जसले आँखालाई असजिलो त पार्छ नै इन्टरनेटको गती पनि सुस्तो हुन्छ। भोल्युम बेस इन्टरनेट लिनेलाई त त्यस्ता विज्ञापनले अनावश्यक धेरै पैसा पनि खर्च गराउँछ।
इन्टरनेट प्रयोगका क्रममा दैनिक साक्षात्कार हुने यस्ता विज्ञापन र तिनले दिने हैरानीबाट जोगिन प्रमुख इन्टरनेट ब्राउजरहरुमा यस्ता विज्ञापन रोक्ने एडअन्स (सफ्टवेयर)हरु पनि विकास भएका छन्। जसले तपाइँलाई त्यस्ता विज्ञापन जसले फोकटमा पैसा खान्छन् र हैरानी दिन्छन् तीनलाई सँधैका लागि बाइबाइ गर्न सक्नुहुन्छ सित्तैमा। प्रमुख पाँच इन्टरनेट ब्राउजरमा यस्ता खालका एडअन एप राख्न सक्नुहुन्छ।
फायरफक्स
एडब्लक प्लसः फायरफक्समा राख्न सकिने यो एडअनले वेबसाइटमा रखेका सबै खालका विज्ञापनको छुटि्ट गरिदिन्छ। एकपटक यो ब्राउजरमा राखिसकेपछि कुनै पनि वेबसाइटका इमेल, फ्रेम, फ्ल्यास भिडियो सबै खालको विज्ञापन देखिँदैन। यसको मदतले छानेर कुनै विज्ञापन विशेषलाई मात्र पनि निषेध गर्न सकिन्छ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
वेबमेल एडब्लकर
यो एडअन राखिसकेपछि तपाइँले कुनै पनि निशुल्क इमेल सेवा दिनेको इमेल सेवामा देखिने विज्ञापनहरु हटाउन सक्नुहुन्छ। यो राखिसकेपछि याहू, जीमेल, हटमेल सबैमा विज्ञापन देखिन छोड्छ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
फायरफक्स एड किलर
यो एडअन फायरफक्सका लागि अर्को विज्ञापन रोक्ने उपाय हो। यो राखिसकेपछि तपाइँले फायरफक्स प्रयोग गरेर खोलेका कुनै पनि वेबसाइटमा विज्ञापन देखिँदैन।यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
सिम्पलब्लक
यो एडअनको नाम अनुसार नै यसले सजिलो रुपमा वेबसाइटमा देखिने विज्ञापन रोक्छ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
नो स्क्रिप्ट
जाभा स्क्रिप्टमा आधारित यो एडअनले विभिन्न वेबसाइटमा देखिने विज्ञापनका अलाबा स्पाइवेयरबाट पनि जोगाउँछ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
इन्टरनेट एक्सप्लोरर
आइइ ७ प्रो
इन्टरनेट एक्सप्लोरर प्रयोग गरेर इन्टरनेट तथा वेबसाइटहरु चलाउने गर्नुभएको छ भने तपाइँले यसलाई विज्ञापन रोक्ने साधनका रुपमा प्रयोग गर्न सक्नुहुन्छ। यसले तपाइँलाई इन्टरनेटको माध्यम भएका आउने विभिन्न थ्रेटहरुबाट पनि सुरक्षा दिन्छ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
सिम्पल एडब्लक
तपाइँको इन्टरनेट ब्राउजरमा खुल्ने कुनै पनि वेबसाइटको विज्ञापन रोक्न छ र आफ्नो इन्टरनेटको गतीलाई बढाउन छ भने यसको प्रयोग गर्नसक्नुहुन्छ।यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
गुगलक्रोम
एडब्लक प्लस
गुगलक्रोम ब्राउजरमा खोलिने सबै खालका वेबसाइट साथै यूट्यूबका भिडियोमा पनि विज्ञापन रोक्नका लागि उपयोगी साधन हो यो। यसलाई आफ्नो गुगलक्रोममा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
फ्ल्यासब्लक
वेबसाइटमा राखिएका फ्ल्यास विज्ञापनहरु रोक्नका लागि यो उपयोगी सामग्री हो। यसलाई गुगलक्रोममा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
सफारी
सफारी एडब्लक
सफारीमा वेबसाइट खोल्दा देखिने विज्ञापन रोक्नका लागि यो सबै भन्दा उत्तम माध्यम हो। यसलाई सफारीमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
फेसबुक क्लिनर
सफारीमा राख्ने यो एडअनले फेसबुकमा देखिने सबै विज्ञापनलाई सफा गरिदिन्छ। यसलाई राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
सोसल फिक्सर
यो सफारी एडअनले फेसबुकको प्रदर्शन र अनुभवलाई सुधार गर्छ। यसको प्रयोगले फेसबुकमा अनफ्रेण्ड नोटिफिकेसन, फोटो म्याग्निफायर, ट्याब्ड न्यूज फिड लगायतलाई सुधार मात्र गर्दैन फेसबुकमा आउने विज्ञापन सबै हटाइदिन्छ। यसलाई सफारीमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्। यो मोजिला, क्रोम, ओपेरा लगायतमा पनि उपलब्ध छ।
ओपेरा
ओपेरा ब्राउजरमा वेबसाइटका विज्ञापनलाई रोक्नका लागि यस्तो उपाय छ। अरु ब्राउजरमा भन्दा ओपेरामा विज्ञापन रोक्नका लागि अल्लि मुस्किल हुनसक्छ। (सायद यो हामीले कम चलाएकाले पनि हुनसक्छ)
ओपेरामा विज्ञापन रोक्नका लागि यहाँ जानुहोस्।
Subscribe to:
Posts (Atom)