नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरी रत्नपार्कस्थित शान्तिबाटिकमा अनशन बस्न थालेको बिहीबार सत्रौँ दिन भएको छ । तर, उनको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य छ ।बिहीबार बेलुकी गिरीको अनशनस्थलमा पुग्दा उनी पल्टिरहेकी थिइन् भने अगाडि राखिएका कुर्सीमा तीन–चारजना कार्यकर्ता उँघिरहेका थिए । पत्रकार आएको थाहा पाउनासाथ गिरी चल्मलाउँदै उठेर बसिन् । उनलाई देख्दा १७ दिनदेखि केही नखाएको ज्यान हो भनेर पत्याउन मुस्किल पथ्र्यो । उनले करिब आधा घन्टा सहज रूपमा हामीसित कुराकानी गरिन् यत्तिका दिनसम्म भोकै बस्दा पनि तपाईं त तगडा हुनुहुँदो रहेछ ? के हो यसको रहस्य ? ‘मह’ नहिच्किचाई उनले जवाफ दिइन्, ‘म बिहान–बिहान पानीमा हालेर मह खान्छु । त्यसैको कमाल हो ।’
आमरण अनशनमा पनि मह खान मिल्छ ? ‘यो आमरण अनशन होइन,’ उनले पछाडि रहेको ब्यानर देखाउँदै भनिन्, ‘अनिश्चितकालीन अनशन हो । यसमा मह खान मिल्छ ।’बिहीबार नै चिकित्सकको टोली आएर उनको स्वास्थ्य परीक्षण गरेको छ । ब्लडप्रेसर केही बढेकोबाहेक अरू सबै सामान्य देखिएको गिरीले जानकारी दिइन् । ‘कहिलेकाहीँ अलिअलि रिँगटा लाग्छ, अरू सामान्य छ,’ उनले भनिन् ।रातिराति खानुहुन्छ भन्ने बाहिर हल्ला छ नि भन्ने जिज्ञासापछि अनुहारको भाव फेर्दै गिरीले प्रतिप्रश्न गरिन्, ‘यो कसले चलाएको हल्ला हो, तपाईंलाई थाहा छ ?’ फेरि आफैँ जवाफ दिइन्, ‘राजेन्द्र महतोले । उहाँ अनशन बस्दा चार दिनमै अस्पताल पुग्नुभएको थियो । म सत्र दिनसम्म पनि यसरी डटेर बसेको देखेपछि यस्तो हल्ला फैलाउनुभएको हो ।’
अनशनको दशौँ दिनपछि मात्र आफूले मह खान थालेको गिरीको भनाइ छ । ‘राज्यले मलाई यहाँबाट उठाइ अस्पतालमा भर्ना गरेर छाडिदिने षड्यन्त्र गरेको रहेछ,’ उनले भनिन्, ‘त्यो थाहा पाएर मैले पनि राज्यको षड्यन्त्र असफल पार्न यो तरिका अपनाएकी हुँ ।’
अनशनको नौ–दश दिनपछि भोकले पेट दुखेर खपिनसक्नुभएको र त्यसपछि बेहोस भएर ढल्नुभन्दा मह खाएर आफ्नो ‘हेल्थ मेन्टेन’ गर्न ठीक लागेको उनी बताउँछिन् । महले आफ्नो मस्तिष्क, हृदय र मिर्गौला स्वस्थ राख्न सहयोग गरेको पनि गिरीले उल्लेख गरिन् । यसका साथै नियमित योगाले पनि आफूलाई सहयोग पुगेको उनको अनुभव छ ।गिरीको अनशनप्रति अहिलेसम्म कसैले खासै चासो दिएका छैनन् । सरकारले वार्ताका लागि बुधबार एउटा पत्र पठाएको थियो, तर अनशन तोडेर मात्रै वार्तामा बस्नुपर्ने सर्त राखिएको छ । त्यस्तो सर्त आफूलाई मञ्जुर नभएको गिरी बताउँछिन् । सरकारसँग वार्ता गर्न गिरीले रामवरण यादवको नेतृत्वमा सात सदस्यीय वार्ता समिति बनाए पनि त्यही सर्तका कारण वार्ता हुन सकेको छैन । अनशन जारी राखेरै वार्ता गर्नुपर्ने गिरीको अडान छ ।गिरीले उच्चस्तरीय राजनीतिक समितिका सदस्यहरू एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस सभापति सुशील कोइराला, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई व्यक्तिगत रूपमा छुट्टाछुट्टै पत्र लेखेर आफ्ना माग सम्बोधन गर्न आग्रह गरेको बताइन् । तर, दलहरूले अहिलेसम्म त्यति चासो नदिएको उनले बताइन् । उनले शुक्रबार राष्ट्रपति डा. रामवरण यादवलाई पत्र पठाउने तयारी गरेकी छिन् ।आफ्नो अनशनलाई मूलधारका मिडियाले समेत चासो नदिएको भन्दै गिरीले दुखेसो गरिन् । ‘नेपालका मिडियाहरू पनि राजनीतिक स्वार्थबाट प्रेरित छन्,’ उनले आरोप लगाइन्, ‘त्यसैले मेरो लडाइँमा उनीहरूले ध्यान दिएका छैनन् ।’
के छन् गिरीका माग ?
मधेसमा वृद्धि भएको जनसंख्याको अनुपातमा क्षेत्र निर्धारण हुनुपर्ने, मतदाता सूची अद्यावधिक गर्न समय थप्नुपर्ने, सिरहाको सारश्वरमा भएको दंगाबाट विस्थापितलाई पुनस्र्थापना गर्नुपर्ने मागलाई गिरीले प्रमुख रूपमा उठाएकी छिन् । यी तीन माग पूरा नभएसम्म अनशन नतोड्ने उनको अडान छ । यसबाहेक २७ वटा माग लेखिएको पर्चा पनि अनशनस्थलमा छरिएका छन् । जसमा विदेशमा बस्ने ५० लाख नागरिकका लागि संविधानसभा चुनावमा अनलाइन भोटिङको व्यवस्था गर्नुपर्नेदेखि स्थानीय निकायको चुनाव तत्कालै गराइनुपर्नेसम्म छन् ।
यस्ता माग पनि छन्
– हिन्दी भाषालाई राष्ट्रिय भाषा र धोतीकुर्तालाई राष्ट्रिय पोसाकको दर्जा दिनुपर्छ
– २० हजार किलोमिटरको हुलाकी सडकको नाम गजेन्द्रनारायण सिंह जनमार्ग राखिनुपर्छ
– राजस्व अनुसन्धान विभागलाई अनुसन्धानका क्रममा कर छलेको आशंका लागेको व्यक्तिले हुलहुज्जत गरेमा वा भाग्ने प्रयास गरेमा गोली हान्नसक्ने अधिकार दिइएको आदेश खारेज गर्नुपर्छ
– पिसिएफ शिक्षकहरूको तलब मासिक आठ हजार रुपैयाँ पुर्याइनुपर्छ र बालविकास सहजकर्ताको तलब पनि बढाइनुपर्छ
– कृषिबाली उत्पादनका लागि दिइने ऋणको ब्याजदर ५० प्रतिशतका दरले घटाइनुपर्छ
– मंसिर ४ गतेको संविधानसभा चुनाव मौसमका कारण उपयुक्त नभएकाले सार्नुपर्छ
सय ग्राम महले पुग्छ
डा. उमा कोइराला (पोषणविद्)
मह मानव स्वास्थ्यका लागि निकै लाभदायक र गुणकारी खाद्य पदार्थ हो । पर्याप्त कार्बोहाइड्रेड र भिटामिन हुने भएकाले तत्काल शरीरमा तागत ल्याउन यसको प्रयोग लाभदायक हुन्छ । सय ग्राम महमा ९४ प्रतिशत कार्बोहाइड्रेड र बाँकी भिटामिन तथा मिनरल्स पाइन्छ । यदि कोही व्यक्तिले अरू कुनै खाद्य पदार्थ नखाई मह मात्रै खान सक्यो भने पनि ऊ शारीरिक रूपमा कमजोर हुँदैन । दिनमा कुनै पनि शारीरिक श्रम नगर्ने व्यक्तिका लागि सय ग्राम मह पर्याप्त हुन आउँछ । त्यसले शरीरका लागि आवश्यक सबैखाले तत्त्व प्राप्त गर्छ । मह खानाले कमजोरीपन हराउँछ । र यो अडिलो पनि हुन्छ । महमा ग्लुकोजको मात्रा निकै बढी हुन्छ । बिरामीका वेला कमजोरी हटाउन जसरी ग्लुकोज खाने गरिन्छ त्यसैगरी मह मात्रै खाएमा त्योभन्दा बढी इनर्जी शरीरले प्राप्त गर्छ ।
No comments:
Post a Comment