Saturday, 29 June 2013


लोकगायिका कोमल वली सद्भावना जाने 
काठमाडौं, १४ असार
नया पत्रिका दैनिकका अनुसार लोकगायिका कोमल वली राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीमा प्रवेश गर्ने भएकी छिन् । पार्टी प्रवेशका लागि उनले सद्भावनाका नेताबीच दुई चरणमा छलफल गरिसकेकी छिन् । अध्यक्ष महतोसँग अब एकपटक अन्तिम चरणमा छलफल गरिसकेपछि उनी औपचारिक रूपमै सद्भावनामै प्रवेश गर्ने कार्यक्रम रहेको छ । 

वलीले पनि सद्भावना पार्टीमा प्रवेशका लागि पार्टीका नेताहरूसँग कुराकानी भइरहेको बताइन् । ‘सद्भावना पार्टीमा प्रवेश गर्नका लागि पार्टीका नेताहरूले मलाई अफर गरेका छन्, यस विषयमा कुराकानी भइरहेको छ,’ वलीले नयाँ पत्रिकासँग भनिन्, ‘अब पार्टी अध्यक्ष राजेन्द्र महतोसँग अन्तिम चरणमा कुराकानी गरेपछि निर्णय गर्नेछु ।’ सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले पनि गायिका वली सद्भावनामा प्रवेश गर्ने कुराकानी अन्तिम चरणमा पुगेको बताए । ‘उहाँ (वली) सद्भावनामा आउने करिब निश्चित भएको छ,’ महामन्त्री सुमनले भने ।सद्भावना पार्टीको विधान, घोषणापत्र, कार्यक्रम र दस्ताबेज आफूले गम्भीर रूपमा अध्ययन गरिरहेको वलीले बताइन् । ‘सद्भावना पार्टीका दस्ताबेज, विधान र कार्यक्रम मैले गम्भीर रूपले अध्ययन गरिरहेकी छु । पार्टीमै जाने भएपछि जानकारी त राख्नुपर्‍यो नि,’ उनले भनिन् । उनले गृहजिल्ला दाङबाटै प्रत्यक्षमा चुनाव लड्ने पनि बताइन् । ‘दाङबाटै प्रत्यक्षमा चुनाव लड्ने विचार गरेकी छु, हेरौँ के हुन्छ,’ उनले भनिन् । केही समयअघि उनले पार्टी खोल्ने बताएकी थिइन् । स्रोतका अनुसार केही कलाकारको सहयोग लिएर नयाँ पार्टी खोल्ने तयारीमा उनी लागेकी थिइन् । उनलाई पुराना कलाकार नीर शाहले समेत सहयोग गरिरहेका थिए । तर, नयाँ पार्टी खोल्ने सोचाइ स्थगित गरेको उनले बताइन् । अब वलीसँगै उनको टिम पनि सद्भावना पार्टीमा प्रवेश गर्ने भएको छ । गायिका वलीको पारिवारिक पृष्ठभूमि भने राप्रपा हो । उनका दाजु यमेन्द्र वली राप्रपा क्षेत्र नम्बर ५ का अध्यक्ष हुन् भने पिता ललित वली राप्रपा नेपालका दाङ जिल्ला सदस्य हुन् । वलीले ‘राजनीति’नामक फिल्ममा समेत नेताको अभिनय गरेकी छिन् ।पूर्वआइजिपी पनि राजनीतिमा यसैगरी पूर्वआइजिपी प्रदीपशमशेर जबरा पनि राजनीतिमा लाग्ने भएका छन् । उनी शरत्सिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । बिहीबार सो पार्टीले गरेको पत्रकार सम्मेलनमा पूर्वआइजिपी राणा पार्टी अध्यक्ष भण्डारीसँगै मञ्चमा थिए । स्रोतका अनुसार आगामी केही दिनभित्रै उनी औपचारिक रूपमा सो पार्टीमा प्रवेश गर्ने भएका छन् । उनी रौतहटबाट प्रत्यक्षमा चुनाव लड्ने तयारीमा छन् । यसअघि सद्भावनामा प्रवेश गर्न राणाले सो पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए । सद्भावनाका नेताहरूसँग कुराकानी भइरहेका वेला उनले भण्डारीसँग पनि कुराकानी गरेका थिए । पार्टी प्रवेश गर्नेबित्तिकै राणा सो पार्टीका केन्द्रीय सदस्य हुनेछन् ।

No comments:

Post a Comment