Friday, 12 July 2013

हिमानी कोषमार्फत बाढीपीडितलाई राहत

      पूर्वयुवराज्ञी हिमानी शाहले हिमानी कोषमार्फत स्थापना गरेको बाढीपीडित राहत कोषमा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टदेखि बहालवाला ब्रिगेडियर जनरल डा. किशोरजंग राणासम्मले सहयोग गरेका छन् । राहत कोषमा बिहीबारसम्म ३८ लाख ७४ हजार नौ सय ५९ रुपैयाँ जम्मा भएको छ ।  मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका बाढीपीडितलाई सहयोग गर्न हिमानीले केही दिनअघि कोष स्थापना गरेको घोषणा गरेकी थिइन् । कोषमा सहयोग गर्न उनले सार्वजनिक रूपमा आह्वान पनि गरेकी थिइन् । हिमानीले स्थापना गरेको राहत कोषमा ४२ जनाले नगद सहयोग गरेका छन् । १६ जनाले राहत सामग्री प्रदान गरेका छन् । रकम र राहत सामग्री प्रदान गर्नेहरूमध्ये केही शाही परिवारकै सदस्य छन् । राहत कोषमा पूर्वराजा ज्ञानेन्द्रले २५ लाख, हिमानी आफैँले पाँच लाख, पूर्वराजकुमारी प्रेरणाले पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।  कोषमा सबैभन्दा बढी पूर्वराजा ज्ञानेन्द्र र सबैभन्दा कम ब्याकवर्ड रेस्टुरेन्टले पाँच सय रुपैयाँ सहयोग गरेका छन् । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले पाँच हजार, बहालवाला ब्रिगेडियर जनरल डा. किशोरजंग राणाले पाँच हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।पूर्वराजाका नातेदारहरू आदर्शविक्रम राणाले पाँच हजार र विनोदविक्रम सिंहले २० हजार रुपैयाँ सहयोग गरेको हिमानी ट्रस्टले जनाएको छ । पूर्वराजाको पूर्वशाहीपाश्र्ववर्ती भरतकेशर सिंहले पाँच हजार, भूतपूर्व सहायक रथी मदनविक्रम राणाले १० हजार, गौरव अग्रवालले १० हजार, जनक खनालले २५ हजार, उदयशमशेर जबराले १५ हजार सहयोग गरेका छन् । त्यस्तै, सिर्जना राणाले २५ हजार, गोइङ प्रालिले ५० हजार, एफबी नेवारी कम्युनिटीले २० हजार, विजयलक्ष्मी राणाले ३१ हजार ११ सय ११ रुपैयाँ राहत कोषमा प्रदान गरेको ट्रस्टले जनाएको छ ।


हिमानीले स्थापना गरेको राहत कोषमा पूर्वराजकुमारी प्रेरणाका छोरा पार्थबहादुर सिंहले दुई सय २८ जोर लुगा सहयोग गरेका छन् । प्रेरणा हिमानी ट्रस्टकी सदस्य पनि हुन् । उनका श्रीमान् एवं पूर्वराजाको ज्वाइँ राजबहादुर सिंहले भने कोषमा सहयोग गरेका छैनन् । हिमानी ट्रस्टका अन्य सदस्यहरू पूजा, सीताष्मा र दिलासाका श्रीमान्ले ट्रस्टलाई सहयोग गरेका छन् । निसहाय सेवा सदनले सगुन शाहमार्फत १४ वटा ठूलो झोला, चार कार्टुन बक्स, रिता खड्गीले सारी, कुर्था, सुरुवाल, लोमस सिटिएल, एनपिएलबाट औषधि, जनकबहादुर सिंहले लत्ताकपडा, सिम्का ल्याबरोटरीले सिटामोल, पद्मा भण्डारीले कुर्था–सुरुवाललगायतका सामग्री हिमानी ट्रस्टलाई प्रदान गरेका छन् । चन्दन थापाले १५ कार्टुन लत्ताकपडा, नेविको प्रालिले १३ कार्टुन बिस्कुट सहयोग गरेको ट्रस्टले जनाएको छ ।

हिमानीको आह्वानमा स्थापित बाढीपीडित राहत कोषमा संकलित नगद र राहत सामग्री वितरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाहसँगै हिमानी साउन पहिलो साता मध्य र सुदूरपश्चिमका बाढीपीडित क्षेत्रमा जाने भएका छन् । उनीहरू धनगढीसम्म हवाईजहाज र त्यसपछि गाडीबाट बाढीपीडित क्षेत्रमा जाने कार्यक्रम छ । भ्रमणको तयारीका लागि पूर्वराजाका स्वकीय सचिव सागर तिमिल्सिना साउन लाग्नासाथ त्यस क्षेत्रमा जाँदै छन् ।

No comments:

Post a Comment