निर्वाचन आयोगले दर्ता भएका दलका लागि चुनाव चिह्न सार्वजनिक गरेको छ । दलहरूका लागि छनोट गर्न आयोगले सार्वजनिक गरेको चिह्नमा मोबाइल, हेल्मेटदेखि हेलिकोप्टर तथा परेवासम्म छन् । अघिल्लोपटक सार्वजनिक गरिएका एक सय ५७ र यसपटक थप भएका नयाँ ४१ गरी एक सय ९८ चुनाव चिह्न सार्वजनिक भएका छन् । तिनैमध्ये दलहरूले चुनाव चिह्न रोज्नुपर्नेछ । पुराना दलले भने यसअघि उनीहरूले प्रयोग गरेका चिह्न नै पाउनेछन् । नयाँ दलले सार्वजनिक भएका र पुराना दलले उपयोग नगरेका चिह्नमध्ये छान्न पाउनेछन् । छानिएको चुनाव चिह्न मतपत्रमा छान्ने दलको नाममा छापिनेछ । ‘दलहरूका लागि चुनाव चिह्न सार्वजनिक भएका छन्,’ निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले नयाँ पत्रिकासँग भने, ‘पुराना दलका लागि पुरानै चिह्न लिने गरी दल दर्ताकै क्रममा टुंगो लागेको हुन्छ, नयाँ दलले सार्वजनिक भएकामध्येका चिह्न रोज्नुपर्नेछ ।’ आयोगमा दर्ता भएका एक सय ३९ दलमध्ये ५४ दलले अघिल्लोपटकको चुनावमा समेत भाग लिइसकेका छन् । तीमध्येका ३३ दल विघटित संविधानसभामा प्रतिनिधित्व गरेका छन् । धेरैजसो चुनाव चिह्न दलहरूको मागअनुसार नै आयोगले ‘चुनाव चिह्न बैंक’बाट उपलब्ध गराएको छ । आयोगले यसपटक ३१ नयाँ चिह्न डिजाइन गरेको छ । पीपलको पातमा धनुष वाणसहितको प्रेमको प्रतीक दर्शाउने चिह्न पनि दलहरूले प्रस्ताव गरेका थिए । तर, त्यो भने आयोगले स्वीकृत गरेको छैन । आयोगले दल दर्ताका क्रममा दलहरूसँग विधान, घोषणापत्र, चुनाव चिह्न, झन्डा मागेको थियो । त्यहीअनुसार दलहरूले आ–आफ्नो इच्छाअनुसारको चिह्न मागेका थिए । तीमध्येका केही चिह्न आयोगको ‘बैंक’मा उपलब्ध भए पनि केही नयाँ डिजाइन गरिएका हुन् । सार्वजनिक गरेका चिह्नमा लाटोकोसेरोदेखि जहाजसम्मका छन् । त्यस्तै, अर्ना भैँसीदेखि कुकुरसम्म पनि दलहरूको रोजाइका लागि चिह्न सार्वजनिक भएका छन् । परेवादेखि आधुनिक सञ्चार मोबाइल सेटसम्म चुनाव चिह्न रोज्न पाउने व्यवस्था आयोगले गरेको छ ।(According to the Naya Patrika)
No comments:
Post a Comment