नयाँ पत्रिका अनुसार संविधानसभा निर्वाचन सफल बनाउन सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । निर्वाचन सुरक्षा योजना बनाएर काम गर्न गृह मन्त्रालयले जिल्ला निर्वाचन सेल पनि बनाएको छ ।गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाप्रमुख तथा प्रवक्ता शंकरप्रसाद कोइरालाको संयोजकत्वमा गठित केन्द्रीय सेलमा जनपद प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका एसएसपीहरू सदस्य छन् । जिल्लास्तरमा सुरक्षा बलियो बनाउन र निर्वाचनका समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७५ वटै जिल्लामा जिल्ला निर्वाचन सेल गठन गरिएको छ ।देशभर शान्तिसुरक्षा कायम राख्न केन्द्रमा गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति रहँदै आएको छ । सो समितिलाई आवश्यक सहयोग पुर्याउने र निर्वाचन सुरक्षामा देखिने चुनौतीको नियमित ब्रिफिङ गर्ने गरी केन्द्रीय र जिल्ला सेल गठन गरिएको गृह स्रोतले जानकारी दिएको छ ।संविधानसभा निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचनविरोधी गतिविधि बढ्दै जान थालेकाले त्यस्ता गतिविधिको विशेष निगरानी राखी निस्तेज पार्न रणनीति बनाउने गरी गृह मन्त्रालयले निर्वाचन सेल गठन गरेको हो । केन्द्रीय निर्वाचन सेलका संयोजक सहसचिव कोइरालाले निर्वाचनमा सुरक्षासँग सम्बन्धित सबै काम केन्द्रीय सेलमार्फत हुने जानकारी दिए । सेल कार्यान्वयनमा आइसकेको उनको भनाइ छ ।सहसचिव कोइरालाका अनुसार केन्द्रीय सेलले हरेक साता बैठक बसेर ७५ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्थाबारे रिपोर्टिङको विश्लेषण गर्नेछ । त्यसैका आधारमा सुरक्षा रणनीति बनाएर अघि बढ्ने उनले जानकारी दिए ।निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्था सुदृढ पारेको पनि कोइरालाले बताए । उनले भने, ‘निर्वाचनका लागि सबैखालका सुरक्षा व्यवस्था मिलाउन र निर्वाध रूपमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालय दृढ छ ।’विभिन्न स्रोतबाट आएका सूचनाका आधारमा गृह मन्त्रालयले ४ मंसिरका लागि घोषित निर्वाचन सम्पन्न गर्न थुप्रै जटिलता रहेको विश्लेषण गरेको छ । तर, ती चुनौती सामना गर्नै नसक्ने खालका भने नरहेको गृहले जनाएको छ । मन्त्रालयका प्रवक्तासमेत रहेका कोइरालाले भने, ‘त्यस्तो कुनै चुनौती छैन, सुरक्षाको दृष्टिले हामी निर्वाचन गराउन सक्षम छौँ ।’
निर्वाचन सुरक्षा योजना मस्यौदा तयार केन्द्रीय निर्वाचन सेलका संयोजक सहसचिव शंकरप्रसाद कोइरालाले एकीकृत निर्वाचन सुरक्षा योजनाको मस्यौदा तयार भएको बताएका छन् । मस्यौदा छिटै मन्त्रिपरिषद्बाट स्वीकृत गराई लागू गरिने उनको भनाइ छ ।स्रोतका अनुसार एकीकृत सुरक्षा योजनामा निर्वाचन सम्पन्न गराउन करिब ७७ हजार म्यादी प्रहरी थप्न प्रस्ताव गरिएको छ । जनपद र सशस्त्र गरी झन्डै ६० प्रतिशत प्रहरीलाई निर्वाचन सुरक्षामा लगाउनुपर्ने प्रस्ताव पनि गृहले गरेको छ ।राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको रक्षा गरी मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न आन्तरिक सुरक्षा नीति–०६९ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको पनि गृह मन्त्रालयले जनाएको छ । बिहीबार गृहद्वारा जारी विज्ञप्तिमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन केन्द्रीय अनुसन्धान ब्युरो नियमावली तर्जुमा गरिएको उल्लेख छ ।त्यस्तै महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षासम्बन्धी मापदण्ड–०७० स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको, विभिन्न भूमिगत समूह तथा सर्वसाधारणसँग रहेका ६ हजार सात सय ४५ थान विभिन्न किसिमका हतियार संकलन गरिएको पनि गृहले जनाएको छ । नेपाली नागरिकता ऐन अध्यादेश–०७० स्वीकृत भएपछि ७५ वटै जिल्लामा तीन सय ६४ वटा एकीकृत घुम्ती सेवा र पाँच सय ३५ वटा टोली परिचालन गरी ६ लाख तीन हजार ९४ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको गृहले जनाएको छ ।
No comments:
Post a Comment