Monday, 22 July 2013

राजा महेन्द्र र बीपी बीच

             राजा महेन्द्रलाई सम्झाउने उनीद्वारा रचित एउटा गीत छ, जुन अचेल रेडियो/टेलिभिजनमा बज्दैन ः म मरे पनि मेरो देश बाँचिरहोस्...। प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफू सानो छँदा आफ्नो स्कुलमा गाएको सेसिल स्पि्रङ्-राइसद्वारा रचित बेलायती राष्ट्रिय गीत मृत्युशय्यामा रहेका बेला आत्मवृत्तान्तका सम्पादकलाई गाएरै टिपाएका थिए, जसको नेपाली अनुवाद हो ः

म कामना गर्दछु तिम्रा लागि, ए मेरो देश 

यहाँ रहेका सबै सांसारकि चीजहरू 

त्यस्ता सबै सम्पूर्ण र पूर्ण 

मेरा दोषरहित स्नेहका सेवाहरू...।

नेपालको राजनीतिमा अत्यधिक चर्चित तर अलग व्यक्तित्वका धनी यिनै दुई एकअर्कासँग मिल्न नसक्दा नेपालका समस्या क्रमशः झाँगिँदै गएको भन्ने गरिन्छ। वास्तवमा उनीहरू किन मिल्न सकेनन्? संविधानसभा नभए पनि संसदीय निर्वाचनमार्फत जनताको हातमा शासन गएको डेढ वर्ष पुग्दा नपुग्दै किन र कसरी प्रजातन्त्रको चीरहरण गरियो ? यी र यस्ता प्रश्नको सेरोफेरोमा बीपी र महेन्द्रकै प्रसंग आउँछ। सम्बन्ध, समानता, असमानता, राष्ट्रप्रेम, नेतृत्व क्षमता, दूरदर्शिता, सिद्धान्त र शक्तिका हिसाबले यी दुई शीर्ष व्यक्तित्व र त्यस समयको मूल्यांकन सान्दर्भिक हुन्छ। यो पनि त्यतिबेला, जतिबेला ००७ सालदेखि ०१५ सालको जस्तै संक्रमण र अन्योलग्रस्त छ|
आफ्नो मुलुकप्रति समर्पित यति संवेदनशील दिवंगत बीपी कोइराला तथा राजा महेन्द्र नेपालको शीतयुद्धकालका प्रखर राजनीतिक व्यक्ति हुनुका साथै विसं ००७ पछिको नेपाल निर्माणका बलिया खम्बा थिए। आधुनिक नेपाल, यसको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान एवं आर्थिक, सामाजिक र राजनीतिक संरचना निर्माणमा दुवैको ठोस विचार थियो। उनीहरूको विचारले क्रमशः आकार लिँदै गएको पनि थियो।  आफ्ना कुरा राख्दा महेन्द्र स्थिर तथा गम्भीर देखिन्थे, बीपी प्रगतिशील एवं उत्साहयुक्त। तर, आमजनताप्रतिको लगाव वा कटिबद्धतामा दुवै परिपक्व थिए। उमेरले बीपी महेन्द्रभन्दा चार वर्ष जेठा थिए। एउटा दरबारिया वातावरणमा पुलपुलिँदै हुर्किएका थिए भने अर्का संघर्षशील हुँदै देश निकालामा परेर निर्वासित परिवारसँगै दुःखजिलो गरी। एउटाले औपचारकि शिक्षा नलिएरै राणाशासनको सीमित राजतन्त्रको परिधिमा आफ्नो व्यक्तित्व निर्माण गरेका थिए भने अर्काले राजनीतिक चेतना भएको परिवार र यसबाहिरको खुला समाजमा व्यक्तित्व बनाएका थिए।  कोलकाताको स्कटिस चर्च कलेज तथा बनारसको हिन्दु विश्वविद्यालयमा पढेका बीपी कोइराला उदार शिक्षा प्रणालीका उत्पादन थिए। महेन्द्रले आफ्नो बाल्यकालमा न त्यस्तो स्कुल देख्न पाए, न त स्वतन्त्र वातावरण नै। छोराको भविष्यका बारेमा बीपीका बाबु कृष्णप्रसाद कोइरालामा कटिबद्धता देखिन्थ्यो। महेन्द्रका बाबु त्रिभुवनले भने काँचो उमेरमै अभिभावक भएकाले त्यति धेरै सोच्न पाएनन्। यति हुँदाहुँदै पनि दुवै आकर्षक व्यक्तित्वका धनी थिए। केही गरूँ भन्ने चाहना, बलियो इच्छाशक्ति तथा अदम्य साहस दुवैको विशेषता थियो।  बीपी र महेन्द्रबीच समानता तथा असमानताका कुरा अरू पनि छन्। दुवैको साहित्यमा गहिरो अभिरुचि थियो। दुवैमा सामान्य नेपालीसँग उठबस गर्ने, रमाउने स्वभाव थियो। चरत्रिले महेन्द्र अन्तरमुखी थिए। त्यसैले उनले के बोल्छन् र किन बोल्छन् भनेर बुझ्नुपर्ने हुन्थ्यो। बीपी आफ्नो व्यक्तित्व र विचारमा स्पष्ट थिए। एउटा कुरा सोच्ने र अर्को कुरा बोल्ने प्रवृत्ति उनमा थिएन। कुरा मन नपर्दा असहमति जनाउन बीपीलाई अप्ठ्यारो थिएन। तर, महेन्द्र समय लिन्थे। उनमा कूटनीतिको मात्रा बढी थियो।  राजनीतिको घामपानी खपेका बीपी शक्ति सञ्चय जनस्तरमा गर्नुपथ्र्यो भनी मान्थे। महेन्द्र पनि जनआकांक्षालाई नै आफ्नो सोचाइको आधार बनाउँथे। एउटाले आफूलाई मालिक ठान्थ्यो भने अर्कोले जनताको आवाज। पढाइलेखाइप्रति दुवैको अभिरुचि भए पनि बीपीको साहित्य, दर्शन, अर्थशास्त्र तथा कलामा उच्च स्तरको ज्ञान थियो। भारत एवं पाश्चात्य जगत्को प्रजातान्त्रिक आन्दोलन एवं दोस्रो विश्वयुद्धपछिको युरोपको आधुनिकताबाट बीपी प्रशस्त दीक्षित थिए। महात्मा गान्धीको स्वराज आन्दोलनको एउटा लहर बीपीमा थियो। महेन्द्रमा पनि पढ्ने-लेख्ने रहर थियो। तर, अवसर पाएनन्। त्यसैले उनी अर्काको कुरा सुन्न रुचाउँथे, तर्क गर्न भने चाहँदैनथे। यसै पनि राजाहरूले प्रायः खुला राजनीति गर्दैनन्। तर, बीपी यी दुवै कुरामा अगाडि थिए। यतिविधि फरक हुँदाहुँदै पनि बीपी र महेन्द्रले प्रतिनिधित्व गर्ने पिँढी एउटै थियो। देशलाई बलियो बनाउनुपर्छ भन्नेमा दुवैको दृढता थियो। दुवैलाई ज्ञान थियो, नेपालको राणाकालीन विगत र अस्थिर वर्तमानको। मुलुकको आन्तरकि एवं बाह्य चुनौतीहरू के हुन् र भू-राजनीतिक समस्याहरूको समाधान कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा दुवैका चिन्ता उत्तिकै थिए। तर, बीपी हातेमालो गर्न सधैँ कटिबद्ध देखिन्थे भने महेन्द्रको हेराइ र बुझाइ जहिले पनि आलोचनात्मक रहन्थ्यो। बीपी राजकाजमा सहमति गरेरै अघि बढ्ने आदर्शका पक्षपाती थिए। उनको सोचाइमा प्रजातन्त्रमा राजनीतिक नेतृत्व जनस्तरबाटै स्थापित हुन्छ भन्ने थियो। महेन्द्रलाई लाग्थ्यो, यो देश उनका बाबुबाजेले पनि आर्जेका हुन्। राजाहरूलाई बन्दी बनाउने राणाशासन फालिएपछि बल्ल समयले साथ दिएको हुँदा देशको श्रीवृद्धिमा राजाको पनि भूमिका हुनुपर्छ भन्ने ठान्थे महेन्द्र।  बीपीमा एउटा दर्शन थियो तर त्यो एकल भूमिका होइन। उनी जनउत्तरदायी शासन पद्धतिप्रति कटिबद्ध थिए। उनी मान्थे, शासन कार्यमा राजा र जनताको साझेदारी हुनुपर्छ। राजाका कुराहरूलाई सुन्ने र कार्यान्वयन गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो। राजा आदरका पात्र हुन्, नीतिगत विषयवस्तु एवं प्रशासनिक कामकारबाहीमा उनी अलग बस्नुपर्छ। यसबाट प्रजातन्त्र बलियो हुन्छ। यसले आफूलाई संस्थागत गर्ने अवसर पाउँछ भन्ने सोचाइले बीपीलाई प्रस्ट रूपमा प्रजातान्त्रिक कित्तामा उभ्याएको थियो।
देशका समस्याहरू बीपी वा महेन्द्रले सोचेभन्दा धेरै ठूला र जटिल थिए। विसं ००७ को परविर्तन नेपाली कांग्रेस तथा अन्य समूहहरूका लागि प्रजातन्त्रको सुरुआत थियो भने राजा त्रिभुवनका लागि राणाशासनबाट मुक्ति। भारतीयहरूले यसलाई राणा-बेलायती गठबन्धनका ठाउँमा आफूलाई स्थापित गर्ने प्रयासभन्दा बढी अर्थमा लिएनन्। साम्राज्यबाट मुक्ति पाए पनि साम्राज्यको लालसा भारतीय शासकहरूमा कम देखिएन। क्रान्तिका माध्यमबाट नेपाल भारतीयहरूको रणनीतिक भुमरीमा परेको थियो। गर्धन एउटाको काटियो, तक्मा अर्कोले भिर्‍यो। दिल्ली सम्झौताको पृष्ठभूमि यही हो। किनभने, क्रान्तिकारी पक्षलाई शासनमा बलियो रूपमा स्थापित हुन दिइएन। राजाका विरुद्ध दलहरू र दलहरूका विरुद्ध राजा पटक-पटक प्रयोग हुन थाले। बीपी र महेन्द्रका सम्बन्धमा एउटाको पक्ष लिएर अर्कोलाई आलोचना गरेर मात्र मुलुकका समस्या समाधान हुन सक्दैनथे। प्रथम आमनिर्वाचनपछि बीपीको प्रधानमन्त्रीत्वमार्फत देशले सुशील, सक्षम र आधुनिक प्रधानमन्त्री मात्र पाएन, तेस्रो विश्वका लागि बलियो नेतृत्व विकासको अवसर पनि प्राप्त भयो। आफ्नो अन्तर्राष्ट्रिय कूटनीतिक क्षमताको प्रदर्शन तथा त्यस बेलाका नामी तेस्रो विश्वका नेतृत्वहरूमाझ बीपीले आफू र आफ्नो देशका लागि एउटा स्थान पनि प्राप्त गरे। प्रधानमन्त्रीका रूपमा उनले संयुक्त राष्ट्र संघको महासभालाई गरेको सम्बोधनमार्फत स्पष्ट रूपमा नेपाल तथा नेपालजस्तै अन्य साना तथा गरबि तेस्रो मुलुकका अधिकारहरूको सम्बन्धमा शंखनाद मात्र गरेनन्, सम्पन्न राष्ट्रहरूबाट विकासोन्मुख मुलुकहरूका लागि दिइने सहयोग दुईपक्षीय नभई राष्ट्र संघमार्फत हुनुपर्ने तथा पैसाको बलमा साना तथा कमजोर राष्ट्रहरूको स्वतन्त्रतालाई आँच पुर्‍याउन नहुने प्रस्ताव पनि राखे। बीपीको सम्बोधन नेपाली कांग्रेसको परराष्ट्र नीति मात्र थिएन, यो समाजवादप्रतिको समर्पण पनि थियो। त्यसमाथि त्यो राजा महेन्द्रद्वारा अनुमोदित सम्बोधन थियो। यसैबाट प्रस्ट हुन्छ, अन्तर्राष्ट्रिय विषयमा राजा प्रधानमन्त्रीसँग कति नजिकको नाता राख्थे|

बीपी आधुनिकता तथा प्रजातान्त्रिक शासन पद्धतिका प्रतीक थिए। राजाले परम्परागत नेपाल तथा यसको शक्तिलाई प्रतिनिधित्व गर्थे। बीपीलाई यसप्रति आपत्ति थिएन। त्यसैले होला, नेपालको प्रजातन्त्रीकरणको अनुभवका बारेमा दुवैलाई केन्दि्रत गरेर लेखिएको डेमोक्रेटिक इन्नोभेसन्स इन नेपाल भन्ने पुस्तकका लेखकद्वय नेपाली भुवनलाल जोशी र अमेरिकी प्राध्यापक लियो रोजले उक्त पुस्तक यी दुवै शिखर पुरुषलाई समर्पण गरेका थिए, जुन यस्तो छ ः 'दुई नेपाली नेताहरू, जो यद्यपि नेपालको इतिहासका अत्यन्त अस्वाभाविक नदेखिएको निरन्तर विडम्बनाका कारण राजनीतिक तरंगको विपरीत दिशामा राखिएका छन्, उनीहरू वास्तविक अर्थमा यस पुस्तकमा उल्लेखित नेपालको राजनीतिक उत्संस्करणका अत्यन्त महत्त्वपूर्ण सहलेखक हुन्।' लेखकद्वयको भनाइमा नेपालको उज्ज्वल प्रजातान्त्रिक भविष्य र राष्ट्रवादका लागि यी दुवैको सहकार्य जरुरी छ। उनीहरूले एउटाको विकल्पका रूपमा अर्कोलाई देखेनन्। यद्यपि, राजा महेन्द्रले प्रजातान्त्रिक परिपाटी एवं संविधानवादप्रति आफ्नो अभिरुचि बढाउनु जरुरी छ भन्ने कुरा स्पष्ट गर्न दुवै विद्वान् चुकेनन्। स्वयं बीपी कोइराला यही मान्यताकै पक्षपाती थिए। तर, अन्ततः त्यसो हुन सकेन। ००७ सालको परविर्तनले जुन रूपमा देशलाई अगाडि बढाउँदै लैजानुपथ्र्यो, त्यस रूपमा देश अघि बढ्न सकेन। त्यो परविर्तनसँगै भारतीयहरूले देखाएको असहिष्णुता एवं हस्तक्षेपको सिकार भएको यस प्रक्रियामा न महेन्द्रको जित हुन सक्यो, न त बीपीको नै। दुवै एकअर्काबाट प्रभावित भए। तर, यो खेलमा चौका भारतले हान्यो। उसले यो अवस्थाबाट प्रशस्त लाभ लियो। नेपालमा त्यस बेला पनि राजनीति बुझ्ने र त्यसलाई व्यक्त गर्न सक्ने 'क्रिटिकल मास' नभएको होइन। तर, त्यो समूह सानो मात्र थिएन, अक्षम पनि थियो। नेपाली समाजको चेतनास्तर आज त यस्तो छ भने त्यस बेलाको स्थिति अन्दाज गर्न गाह्रो हुँदैन।  यो स्वाभाविक हो, नेताहरूमा सत्ताको आकांक्षा थियो। तर, जनसमर्थन धेरैलाई प्राप्त थिएन। नेतृत्वको व्यक्तिगत चाहनालाई अर्थतन्त्रले धान्न सक्दैनथ्यो। कृषिप्रधान मुलुक र कृषि आयको निरीह अवस्था वास्तवमा आर्थिक रूपमा एउटा प्रमुख पक्ष बनेको थियो, नेपालको प्रजातान्त्रिक आन्दोलनको त्यो चरणमा। नेपाली कांग्रेसलाई कसरी नियन्त्रणमा राख्ने भन्ने ००७ सालदेखिकै भारतीय प्रयासका साथै दलहरूको प्रशस्त दुरुपयोग, प्रादुर्भाव एवं लगानीका प्रक्रिया पनि सुरु भए। यसै प्रसंगमा विदेशीलाई सहयोग पुर्‍याउने सेवा प्रदायकका रूपमा अन्य स्रोतहरूबाट फाइदा लिने प्रवृत्ति क्रमशः देखा पर्न थालिसकेको थियो। यो चुनौती राजाका लागि पनि थियो। तर, यसबाट सबैभन्दा बढी प्रजातान्त्रिक आन्दोलन प्रभावित हुन पुग्यो।  छिमेकका भारत र चीन दुवै क्रमशः बलिया हुँदै थिए। अमेरिका र रुस महाशक्ति राष्ट्रको क्षमता राख्थे। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग बीपी आफ्नो व्यक्तिगत सम्बन्ध भएको ठान्थे। सम्बन्ध भएकामा शंका छैन तर स्वतन्त्र चिन्तक रहेका बीपीप्रति नेहरुको कुनै सद्भाव थिएन। त्यहाँका समाजवादीहरूसँग बीपीको मित्रता उल्लेखनीय रूपमा थियो। चिनियाँ क्रान्तिका नेतृत्वकर्ता माओत्सेतुङ्लाई बीपी पितातुल्य देख्थे। उनको प्रयोग सफल होस् र समाजवादले चीनमा जरो गाडोस् भन्ने चाहना तत्कालीन प्रधानमन्त्री बीपीमा थियो। महेन्द्र राजाका रूपमा यी दुवैसँग परिचित थिए। तर, व्यक्तिगत स्तरको सम्बन्ध उनलाई परिस्थितिले दिएन।

बीपीसँगै सहकार्यका लागि अगाडि बढ्ने प्रयास राजाका तर्फबाट कहिल्यै भएन। यसमा उनी हतार पनि मान्दैनथे। यो परिस्थिति राजा महेन्द्र तथा प्रधानमन्त्री बीपी दुवैका लागि चुनौतीपूर्ण थियो। देशले एकताको माग गरेको थियो। यो खेलमा परिस्थिति राम्रोसँग बुझ्न नसक्दा राजा महेन्द्र भारतसँग नजिकिन पुगे। परिणामस्वरूप प्रजातन्त्र अपदस्थ गरियो। बीपीलाई झ्यालखानमा पुर्‍याइयो। भारतीयहरूको दृष्टिमा बीपी भारतका लागि जोखिम भइसकेका थिए। 
आजपर्यन्त पनि प्रजातान्त्रिक परिपाटीमाथि यत्रो ठूलो हमला किन भयो भनेर छलफल भइरहेकै छ। वास्तवमा ००७ सालदेखिका परविर्तनमा बीपीको गहिरो छाप थियो। व्यक्तिगत स्तरमा उनी सबैभन्दा योग्य र सक्षम देखिएका थिए। सरकारमा भए पनि नभए पनि उनको विचार र व्यक्तित्वले सधैँ राजनीतिक प्रक्रियाहरूलाई प्रभावित गर्थे। कहाँसम्म भने बीपीले नै मध्यस्थता गरिदिएका कारण महेन्द्रले रत्नसँग विवाह गर्न सके। राजपरिवारसँगको उनको सम्बन्ध झाँगिँदै थियो। परविर्तनबाट प्रभावित राणाहरूलाई धेरै हदसम्म नेपाली कांग्रेसले व्यवस्थापन गरसिकेको थियो। छोटो समयमै देशले आन्तरकि शान्ति तथा सुव्यवस्था प्राप्त गर्दै थियो। सार्वजनिक क्षेत्रमा बीपीको प्रभाव कम हुने कुरै भएन। अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालले दु्रत गतिमा सम्बन्ध स्थापना गर्दै थियो।  यसैबीच, नेपाली कांग्रेसको संगठनभित्रका खिचलोहरू सुरु भइसकेका थिए। तर, तिनका सैद्धान्तिक आधारहरू थिएनन्। यसले नेतृत्वलाई जहिल्यै संकट ल्याउने तथा कमजोर बनाउने उद्देश्य राख्थ्यो। राजाका वितृष्णाहरू कसरी बढ्दै गएका थिए भनेर बीपीले आत्मवृत्तान्तमा पनि उल्लेख गरेका छन्। राजा भ्रष्टाचारको कुरा उठाउँथे, कुशासनको प्रश्न झिक्थे। त्यसको छिनोफानो पनि हुन्थ्यो। अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर कतिपय विषयमा राजा र प्रधानमन्त्रीबीच सल्लाहसमेत हुन्थे। राष्ट्रियताका मुद्दामा दुवैका दृष्टिकोण समान थिए। तर, प्रजातन्त्रको कुरा गर्दा महेन्द्र स-साना कार्यकारिणी निर्णयलाई पनि बढी कोट्याउन चाहन्थे। भर्खर प्रजातन्त्र उपभोग गर्न थालेका तथा संगठनात्मक रूपमा बलियो भइनसकेका राजनीतिक दलहरूबाट हुन गएका उच्छृंखलताहरूसँग जुध्नका लागि समय चाहिन्थ्यो। राजा यसबारे त्यति सहनशील थिएनन्। कतिपय विषयमा सरकारलाई अप्ठ्यारो हुने गरी राजाले बोलेको, गतिविधि गरेको कारणबाट प्रधानमन्त्रीलाई कार्यकारिणी अधिकारको प्रयोग गर्न गाह्रो पथ्र्यो। बीपीले खोजेजतिको संवेदनशीलता राजाबाट प्राप्त हुँदैनथ्यो। तथापि, प्रजातान्त्रिक प्रक्रियाहरू अवरुद्ध भएका थिएनन्। निर्वाचित संसद्मा देशका बारेमा छलफल हुनु र सरकारबाट संसदीय उत्तरदायित्वको निर्वाह हुनु नेपालको राजनीतिक प्रयोगमा एउटा नौलो आयाम थियो।  तर पनि बीपी अपदस्थ गरिए। यसपछि पनि नेपालले विभिन्न मुलुकसँग सम्बन्ध विस्तार गर्‍यो। राजदूतहरू ल्याइए, पठाइए। स्वयं भारत र चीनसँगको सम्बन्धमा पनि ठूलो परविर्तन देखा पर्‍यो। मुलुकको आन्तरकि सुरक्षाका विषयहरूमा विभिन्न निर्णयहरू गरिए। ती विषयमा महेन्द्र र बीपीले एकअर्कालाई असहयोग गरेको देखिएन। आफूले आठ वर्ष लगातार जेलमा थुनेर राखेको अपदस्थ प्रधानमन्त्रीका बारेमा महेन्द्रले कतै निचो बोलेनन्। त्यसै गरी कतै पनि बीपीको मुखबाट महेन्द्रका प्रति नराम्रा अभिव्यक्ति आएनन्। महेन्द्र आफैँले पनि बीपीलाई कुनै व्यक्तिगत वा सार्वजनिक आरोप लगाएको कुनै पनि प्रकाशित स्रोतहरूमा देखिँदैन।  ०१९ मा भएको भारत-चीन युद्ध एउटा ठूलो 'टेस्ट केस' थियो। बीपी वा महेन्द्रले यो विषयलाई लिएर एकअर्कासँग रुग्ण राजनीति गरेनन्। यी दुईका बीच समस्या छँदै थिएनन् भन्ने होइन, थिए। तर, ती समाधान हुँदै गएका थिए। प्रमुख कुरा के हो भने अब बीपी तथा नेपाली कांग्रेस दुवै भारत सरकारको आँखाको कसिंगर भइसकेका थिए। यसैबीच अप्रत्यासित रूपमा राजा महेन्द्रले आफू र आफ्नो देशविरुद्ध निर्णय लिएका थिए। त्यो निर्णयमा सानोतिनो उनको पनि स्वार्थ थियो। तर, त्यसभन्दा ठूलो स्वार्थ भारतको थियो, जसको महेन्द्रलाई अन्दाज थिएन। बीपीलाई अपदस्थ गरी १ पुस ०१७ मै झ्यालखानमा हालिसकेपछि पनि महेन्द्रले उनका कतिपय मान्यतालाई छाडेनन्। उनले ०१७ देखि ०२८ सालसम्म गरे/गराएका विभिन्न आर्थिक, सामाजिक एवं विकासका प्रयासहरूलाई बीपीले पनि विरोध गरेनन्। यस्तै, बीपीको प्रधानमन्त्रीत्व कालपछि पनि प्रशासनिक सुधार, न्यायिक सुधार तथा शान्ति सुरक्षाका सम्बन्धमा प्रशस्त कानुनहरू पारति भए। राज्यका प्रशासनिक संरचनाहरू पुनः निर्माण गरिए। बीपी एवं नेपाली कांग्रेसले गरेका त्यस्ता कार्यका बारेमा पनि महेन्द्रले कतै टीकाटिप्पणी गरेनन्। बरू उनले बीपीले ०१५ सालमा ल्याएका कतिपय नीति तथा कार्यक्रमलाई पछिका सरकारमार्फत निरन्तरता नै दिए। मूलभूत रूपमा राजनीतिक दल एवं प्रजातान्त्रिक संगठनहरूलाई पर्याप्त ठाउँ दिनुपर्छ तथा राजनीतिक दलहरूबिना जनताको परिचालन सम्भव छैन भन्ने विषयमा बीपीका विचारहरू सधैँ स्पष्ट रहे। यसबाहेक स्वयं पञ्चायती व्यवस्थाप्रति पनि बीपीका अन्य तीक्ष्ण आलोचनाहरू पाइँदैनन्। 

बीपीको स्वभाव षड्यन्त्रपूर्ण थिएन। तर, भारतीयहरूको नेपाल नीति कुटिलतारहित थिएन। त्यसैले अन्तरमुखी राजा महेन्द्रको प्रशस्त दुरुपयोग हुन लाग्दा पनि बीपी आफ्नो क्षमतामा नै विश्वास गरी बसे। आफूले विरोध गर्दा राजतन्त्र मात्र होइन, देशभित्र रहेको आन्तरकि सार्वभौमसत्तासमेत कुचक्रमा पर्न सक्छ भन्ने उनलाई लाग्थ्यो। तर, दरबारभित्रका व्यूह रचनामा बीपीको पकड थिएन। क्रमशः राजा र जनताबीचको खाडल खनिँदै थियो।  आफ्नो अन्तस्करणमा कतै न कतै राजा महेन्द्रलाई लाग्थ्यो, राजकाजमा महत्त्वाकांक्षी शक्तिशाली व्यक्ति नेपालमा जंगबहादुर -विसं १८७४-१९३३)का रूपमा पुनः जन्मन सक्छन्। २ असोज १९०३ मा तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाह तथा ४० जना भाइभारदारको ज्यान लिने गरी भएको कोतपर्वमार्फत आफूलाई सत्तामा स्थापित गर्न सक्षम जंगबहादुर राणा नेपालका राजाहरूका लागि सधैँ भय र त्रासका विषय बने। नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री दिवगंत कृष्णप्रसाद भट्टराईको दृष्टिकोणमा त्यो भय एवं त्रास राजा त्रिभुवन र महेन्द्रमा पनि थियो। बीपीको व्यक्तित्व, क्षमता वा उचाइले कदाचित महेन्द्र पनि आक्रान्त थिए। तर, केवल त्यतिका कारणले मात्र नेपालको प्रजातन्त्रको प्रयोग विफल गराइएको थिएन। दुश्चक्रमा उनी पनि फसेका थिए।  महेन्द्रको मृत्यु अप्रत्यासित रूपमा हृदयाघातका कारण भएको मानिन्छ। राजा महेन्द्रको मृत्यु अमेरिकी गुप्तचर संस्थासँग नजिक रहेका टाइगर टप्स होटलका मालिक जोन कोपम्यानको अँगालोमा भएको भन्ने छ। यसका बारेमा प्रस्ट रूपमा लेखिएको/बोलिएको देखिँदैन। दुर्भाग्य भनौँ वा नियति, त्यतिखेरसम्म बीपीसँग मेलमिलाप गर्दै प्रजातान्त्रिक शासन प्रणालीमा फर्किने वातावरण नयाँ राजाको हातमा होइन, तथाकथित दरबारको हातमा पुगिसकेको थियो। दरबारलाई कसैले चलाउँदो रहेछ। बीपीले पटक-पटक यो कुरा उल्लेख गरेका छन्।  बीपी आफ्नो जीवनकालमै राजनेता मानिए। उद्देश्यको पवित्रता र संघर्षले उनलाई त्यो उचाइमा पुर्‍यायो। प्रजातान्त्रिक संरचनाहरूप्रति असहिष्णु देखिएका कारण महेन्द्रले त्यो खिताब पाउन सकेनन्। प्रजातन्त्र र अखण्ड राष्ट्रवाद सन्निहित राष्ट्रिय मेलमिलापको नीतिको पृष्ठभूमि यिनै अनुभवका आधारमा तयार गरिएका थिए। तर, आजका मितिमा बीपी आफूले स्थापना गरेको नेपाली कांग्रेसकै एजेन्डामा पर्दैनन्। किनभने, बाहिरिया तत्त्व अब ठूला दलहरूलाई सिध्याउन लागेको छ। बाँच्नका लागि पनि बीपी तथा उनका सिद्धान्तहरूलाई बार्नुपर्ने बाध्यता कांग्रेसजनलाई छ। यदि बीपीको राष्ट्रिय चिन्तनलाई राजा महेन्द्रले बुझ्न सकेका भए आज देशको यो स्तरको दुर्दशा हुने थिएन र पराधीनता पनि खेप्नुपर्ने थिएन। राष्ट्रवादीहरूले प्रजातन्त्र चलाउँथे र प्रजातन्त्रवादीहरूले राष्ट्रको सार्वभौमसत्ता जोगाउँथे। 

पहिली पत्नी इन्द्र राज्यलक्ष्मीको निधनपछि तत्कालीन युवराज महेन्द्रको रत्नसँग गहिरो प्रेम थियो। तर, त्यसलाई विवाहमा परिणत गर्न राजा त्रिभुवन तयार थिएनन्। त्यसैले विवाहका कुनै कार्यक्रममा त्रिभुवन उपस्थित भएनन्। बीपी कोइरालाले भने महेन्द्रलाई साथ दिए। यहीबीचमा बहालवाला मन्त्री महावीरशमशेरलगायतले महेन्द्रको ठाउँमा उनकै भाइ हिमालयलाई युवराजाधिराज बनाउने षड्यन्त्र सुरु गरे। त्यसका लागि गोरखा दरबार सरसफाइ गरी तयारी अवस्थामा राखे। जब बीपीले यो कुरा थाहा पाए, राजा महेन्द्रको पक्षमा लागे। महेन्द्रलाई आश्वस्त पार्न बीपीले सेनाको साथ लिएर भए पनि विस्थापित हुन नदिने वचन दिए। यी र यस्ता घटनाबाट महेन्द्र बीपीको जोखिम मोल्ने क्षमताबाट परिचित मात्र भएनन्, उनको सुरो स्वभावबाट उनको मनमा चिसो पनि पस्यो। तर, बीपी भने महेन्द्रलाई साथ लिएर अघि बढ्न खोज्दै थिए। ००७ सालको क्रान्तिपछि राजा त्रिभुवनले बीपीका दाजु मातृकाप्रसाद कोइरालालाई काखी च्यापे। बीपी स्वाभाविक रूपमा महेन्द्रतिर लाग्नुपर्ने अवस्था आयो। यसका पछाडि राजदरबार र कोइराला परिवारका पारिवारकि आयाम पनि थिए। बाबु त्रिभुवनले मातृकालाई साथ दिए पनि छोरा महेन्द्रको साथ आफूलाई रहन्छ भन्ने बीपीको ठम्याइ थियो। कोइराला परिवारभित्रको द्वन्द्वले पनि बीपीलाई महेन्द्रतिर हुत्याएको थियो। मातृका कृष्णप्रसाद कोइरालाकी जेठी श्रीमतीका छोरा थिए भने बीपी कान्छीपट्टिका। बीपीले महेन्द्रलाई विश्वास र प्रभावमा राख्न जतिसुकै प्रयास गरे पनि परिणाम सोचेजस्तो भएन। न त ०१५ सालअगावै महेन्द्रले बीपीलाई प्रधानमन्त्री बनाए, न त्यसपछिका दिनमा सुमधुर सम्बन्धका लागि प्रयास गरे। यी दुईको पारिवारकि पृष्ठभूमि, संस्कार, चिन्तन, अध्ययन र व्यक्तित्व विकासको प्रक्रियाले यिनलाई कहिल्यै एक ठाउँमा रहन दिएन। साथै, राजा महेन्द्र र बीपीबीच फाटो ल्याएर आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने व्यक्ति र शक्तिका कारण पनि उनीहरूबीच मेल सम्भव भएन।

 महेन्द्र र बीपी दुवै महत्त्वाकांक्षी थिए। दुवैमा देशका लागि केही गरौँ भन्ने भावना थियो। राजनीतिमा पनि दुवै उत्तिकै चलाख थिए। मै खान्छु, मै लाउँछु भनेर पनि राजाले कदम चालेका थिएनन्। दुवै युवा थिए, ऊर्जावान् थिए। दुवैको चाहना प्रत्यक्ष नेतृत्व दिने नै थियो। राजा महेन्द्र पनि पार्टी खोल्न चाहन्थे। बीपी पनि पूर्णतः राजाविरोधी होइनन्, राजा पनि पूर्णतः प्रजातन्त्रविरोधी होइनन्। यद्यपि, परिभाषा आ-आफ्नै थियो। धेरै कुरामा उनीहरूबीच समानता रहेकाले नै संघर्ष भयो। कसैको भूमिकामा कोही व्यक्ति बाधक भयो भने त्यहाँ द्वन्द्व हुन्छ। महेन्द्र र बीपीबीच त्यही भयो। राजा महेन्द्रको आफ्नै व्यक्तित्व थियो, बीपीको आफ्नै। त्यसैले सँगै बस्न सकेनन्। समान व्यक्तित्वमा दोस्ती हुँदैन, संघर्ष हुन्छ। दोस्ती हुन त एउटा अनुसरणकर्ता हुनुपर्छ। उनीहरू त दुवै बाघ थिए। कुनचाहिँ बाघलाई कसले मान्ने भन्ने कुरा थियो। राजा बलिया भए, बीपीलाई निकालिदिए तर हराउन भने सकेनन्।

राजाका अगाडि बीपी र बीपीका अगाडि राजा समर्पित हुने कुरा कल्पनै गर्न नसकिने कुरा थिए। फेरि बीपीको व्यक्तित्व राष्ट्रप्रमुखको व्यक्तित्वले थिचेर थिचिने खालको थिएन। चाकरी गर्ने प्रवृत्ति बीपीमा थिएन। दरबारको संस्कार र राणाको संगतमा हुर्किएकाले महेन्द्र नोकर/चाकरमा विश्वास गर्ने नै भए। राजा स्वभावैले आज्ञाकारी मानिस खोज्थे। बहस/प्रतिवाद गर्न खोज्ने उनको नजरमा राम्रा ठहरिँदैनथे। राजाले जेजे भन्छन्, त्यही कुरा मान्ने मान्छे बीपी थिएनन्। तर, मिलेर जानुपर्छ भन्ने मान्यताका पक्षपाती थिए उनी। झगडा भनेको जहिले पनि व्यक्तित्वकै हुन्छ। आखिर मिल्नका लागि त एउटाले त्याग देखाउनैपथ्र्यो। महेन्द्र-बीपी दुवैले त्यो त्याग देखाउन सकेनन्। टक्कर टक्करकै रूपमा चलिरह्यो। हुन त राजा प्रतिस्पर्धा गर्ने मान्छे थिएनन्। उनी त जन्मजात नेतृत्वमा स्थापित थिए। बीपी जनताका बीचमा प्रतिस्पर्धा गरेर आएका थिए। यो कुरा राजाले बुझिदिएका भए पनि बेमेल हुँदैनथ्यो होला। तर, महेन्द्रलाई लाग्यो, बीपीले आफूले भनेको मान्नुपर्छ। बीपीचाहिँ राजाले भनेको खुरुखुरु मान्ने स्वभावका थिएनन्। उनलाई आफू जनताबाट चुनिएर आएको भन्ने हुने नै भयो। झगडाको कारक यही बन्न पुग्यो। जनताका छोरा भएकाले बीपीको व्यवहार जहिले पनि जनताकै जस्तो हुन्थ्यो। राजाका छोरा भएकाले महेन्द्रमा दरबारकै व्यवहार देखिन्थ्यो। बीपीलाई भेट्न समकालीन नेताहरूले समय लिनुपर्दैनथ्यो। जहाँ जसरी बसे पनि अप्ठ्यारो हुँदैनथ्यो। तर, राजाका अगाडि पुगेको मानिस उनको आज्ञाबेगर कुर्सीमा पनि बस्न सक्दैनथ्यो। उनीहरूले बस नभनुन्जेल उभिनैपथ्र्यो। राजाले नसोधेसम्म कुरै गर्न मिल्दैनथ्यो। बीपीसँग आफूलाई लागेका कुरा मजाले भन्न पाइन्थ्यो। बीपीको अर्को विशेषता के थियो भने समकालीन नेता/कार्यकर्तालाई भन्दा तिनका परविारलाई बढ्ता माया गर्थे। साथीभाइ नभएको अवस्थामा कसैको घरमा पुगेका छन् भने पनि उनीहरूका परविारसँग बसेर गफ गर्ने, खाने स्वभाव थियो। राजा त्यस्तो गर्न सक्दैनथे। उनको परविेश र कूलले नै यस्तो गर्न दिँदैनथ्यो। आफन्तहरूसँग नजिकिने व्यवहार राजामा हुँदैनथ्यो। त्यस्तो घनिष्टता देखाउन सक्दैनथे। जहिले पनि दूरी रहन्थ्यो। त्यसैले राणा-शाह परिवार र अन्य परिवारका बीचको विभेदजस्तै हो, राजा र बीपीबीचको दूरी। यो वर्गीय दूरी हो।



महेन्द्र र बीपीको काम गर्ने शैली भिन्न थियो। बीपीकै कुरालाई आधार मान्ने हो भने राजा त भावनामा बग्ने मानिस हुन्। बीपी राजा महेन्द्रलाई मियोका रूपमा ठड्याउन चाहन्थे। भोलि चीन र भारतको दबाब पर्‍यो भने पनि राजालाई देखाउन सकिन्छ भन्ने उनको ठम्याइ थियो। बीपीको भनाइ नै थियो, 'राष्ट्रियताको नेता राजा हो, प्रजातन्त्रको नेता म हुँ।' बीपी जनताप्रति उत्तरदायी हुन खोज्थे। त्यो कुरा राजालाई चित्त बुझ्दैनथ्यो। किनभने, राजालाई लाग्थ्यो 'ऊ त मेरो प्रधानमन्त्री हो। मप्रति उत्तरदायी हुनुपर्छ।' डा तुलसी गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट आदि प्रधानमन्त्री त राजाकै भए। सुवर्णशमशेरले पनि राजाकै भावना बुझेर काम गरे। मातृका, डा केआई सिंह पनि राजाकै प्रधानमन्त्री भए। यही कुरा महेन्द्र बीपीसँग पनि चाहन्थे। राजाहरू भनेका ऐन-कानुन वास्ता गर्दैनन्। जुन प्रवृत्ति महेन्द्रमा पनि थियो। त्यसैले उनी जहिले पनि आफूले अह्राएको होस् भन्ने चाहन्थे। महेन्द्रको स्वभाव कस्तो थियो भने कसैलाई ल्याउन पनि धक नमान्ने र निकाल्न पनि बेर नलगाउने। जस्तो ः यसबीचमा धेरै व्यक्तिलाई प्रधानमन्त्री बनाए, निकाले । प्रत्यक्ष शासनको अनुभव पनि बटुले। तुलसी गिरी, सूर्यबहादुर थापा आदिलाई प्रधानमन्त्री बनाए । सूर्यबहादुरले बाहिर आएर के के बोले, उनलाई थुनिदिए। भारत बलियो थियो र सूर्यबहादुर बाँचे, नभए उनको हैसियत अर्कै हुन्थ्यो।

बीपी हरेक कुरा सुझबुझ र सल्लाहमा गर्थे। सुवर्णशमशेरलाई सभापति बनाउँदाकै कुरा गरौँ। सुवर्णलाई नेतृत्व दिने प्रस्ताव केन्द्रीय समितिबाट पारति भयो। गणेशमान सिंह उनका विरुद्धमा उठे। बीपी चुप लागेर बसे। उनले गणेशमानले कुनै हालतमा जित्नु हुँदैन तर साह्रै धेरै मत अन्तरले पनि हार्ने अवस्था आउन नदिनू भनेका थिए। भयो पनि त्यस्तै, ६० प्रतिशत सुवर्ण र ४० प्रतिशत मत गणेशमानलाई आयो। सुवर्ण सभापति भए। पैसा कमाएर धनी हुँला भन्ने इच्छा दुवैमा थिएन। फरक के थियो भने महेन्द्र स्वतः धनी थिए। उनलाई धनी बन्न केही गर्नैपर्ने थिएन। तर, राजा भएर श्रीपेच लगाएर पनि हिँड्दैनथे उनी। राजामा हुने गुण उनमा कम थियो र शासन गर्ने गुण प्रशस्त थियो। 'देशको नेतृत्व गर्छु, देशै बनाउँछु, एक्लै बनाउँछु' भन्थे उनी। बीपी मात्र नेपालका यस्ता प्रधानमन्त्री थिए, जसको राजधानीमा आफ्नो घर थिएन, मोटर थिएन। अधिकांश समय पैदलै हिँड्थे। पुख्र्यौली सम्पत्ति जे थियो, उनले थप केही जोडेनन्। विशालनगरमा बस्दा वसन्तशमशेरले भाडा लिँदैनथे। भाडा तिर्न पनि गाह्रो थियो उनलाई। बीपी पत्नी सुशीलाले घरखर्चकै निम्ति आफ्ना गहना बेचिन्। बीपी प्रधानमन्त्री हुँदा सुशीलासँग गहना नदेखेर रानी रत्नले गहना उपहार दिएकी थिइन्। ती गहना बीपी गिरफ्तारीमा परी सुन्दरीजल जेलमा परेपछि फिर्ता गरिदिइन्। बीपीकै स्वाभिमानका कारण उनले ती गहना राख्न सकिनन्। भारतमा नेहरुको जे भूमिका रह्यो, नेपालका सन्दर्भमा बीपी त्यही भूमिकामा थिए। तर, राजा महेन्द्रलाई प्रधानमन्त्रीले धाक लगाएको मनै पर्दैनथ्यो। कहिलेकाहीँ बीपी रानीसँग गएर खुसुक्क कुरा गरिदिन्थे। जबकि, दरबारियाहरू कोही पनि त्यसरी जान सक्दैनथे। रानीसँग शिर ठाडो पारेर, आँखा जुधाएर कुरा गर्न सक्दैनथे। बीपी भने आफ्ना कार्यकर्तासँग जसरी कुरा गर्थे, त्यसरी नै रानीसँग प्रस्तुत हुन्थे। यो कुरा दरबारियाहरूले मन नपराए पनि बोल्दैनथे। तर, पछिपछि कुरा काट्थे।

तीक्ष्ण बौद्धिकता र स्वाभिमानी व्यक्तित्व थियो बीपीको। त्यसैले कहीँ पनि उनले हेपिएर रहनै परेन। राजाको नजिक हुँदा पनि उनले आफ्नोपना कायम राखे। आफूलाई सधैँ जनप्रतिनिधि नै ठाने। 'नेपाल जोगाउने हो भने सरकार र म मिल्नुपर्छ' भन्थे। बीपीले आफूसँग तुलना गरेको राजालाई मन पर्दैनथ्यो। राजालाई सेनाको बल थियो। उसैको सहयोगमा प्रधानमन्त्री बीपीलाई थुनियो। त्यहीँबाट यी दुई नेता दुई किनार भए। मूल्य मुलुकले चुकायो। आत्मसमर्पण राजाले त गर्दैनथे, प्रधानमन्त्रीले नै गर्नुपथ्र्यो। राजा महेन्द्र जसरी हुन्छ, आत्मसमर्पण गराउन चाहन्थे। राजा महेन्द्रले ०२५ मा बीपीलाई औषधोपचारका लागि भारत पठाए। राजालाई विश्वास थियो, उपचारमा सहयोग गरेको गुन फर्काउन बीपी आफ्नो पक्षमा आउनेछन्। बीपी पञ्चायतमा फर्किन्थे कि फर्किंदैनथे, त्यो बेग्लै कुरा हो। तर, उनी राजासँग संवाद चाहन्थे। त्यसैका लागि उनी विराटनगर हुँदै काठमाडौँ आउँदै थिए। तर, तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा र कांग्रेसकै सूर्यप्रसाद उपाध्यायले सल्लाह गरेर विराटनगरबाट काठमाडौँ आउन तयार भएका बीपीलाई 'यहाँ आउनुभयो भने पक्राउ पर्नुहुन्छ' भनेर उताबाटै भगाइदिए। बीपीले पनि जेल जानुभन्दा भारततिर लाग्नु नै उपयुक्त ठाने। यसरी महेन्द्र र बीपीबीच फाटो ल्याएर आफ्नो दुनो सोझ्याउन खोज्नेहरू प्रशस्तै थिए।Source-Nepal

No comments:

Post a Comment