हङकङ, २६ असार, निर्वासनमा रहेका तिब्बती धार्मिक नेता दलाई लामाविरुद्ध आफ्नो पार्टी र सरकार लडिरहने एक चिनियाँ उच्चपदस्थ अधिकारीले बताएका छन् । लामाको जन्मदिन मनाइरहँदा केही तिब्बतीमाथि भएको चिनियाँ आक्रमणले पनि त्यसको पुष्टि गरेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य यु झेङसेङलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ ।
‘दलाई लामा लामो समयदेखि अराजक गतिविधिमा लागेका छन् । उनको पथलाई कैयौँ समुदायले अस्वीकार गर्दा पनि उनी आफ्नो गल्ती सच्याउनेतर्फ लागेका छैनन्,’ एक कार्यक्रममा झेङसेङले भनेको कुरालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । उनका अनुसार दलाई लामाविरुद्ध वास्तविक संघर्ष अब सुरु गरिनेछ । उनले सो संघर्षलाई ‘द दलाई क्लिक’ नाम दिएका छन् ।
तिब्बत भ्रमणमा रहेका झेङसेङले लामाले आफ्नो गल्ती स्वीकार गर्दै आत्मालोचना गरे उनलाई चिनियाँ कम्युनिस्ट पार्टीले फरक ढंगले हेर्ने बताए । उनले थपे, ‘तिब्बत सदियौँदेखि चीनको अधिनमा रहेको पनि दलाई लामाले स्विकार्नुपर्छ ।’
स्वतन्त्र तिब्बतको माग गर्दै दलाई लामा सन् १९५९ मा भारतमा शरण लिन पुगेका थिए । स्वतन्त्र तिब्बत भएको खण्डमा मात्रै लामाले तिब्बतमा वास्तविक बुद्ध धर्मको विकास गर्न सक्ने बताउँदै आएका छन् । तर, बेङजिङले सधैँ तिब्बत आफ्नो अधिनमा रहँदा त्यहाँको जीवनशैलीमा विकास भएको र दशकौँअघिदेखि सो धर्मप्रति आफूहरू सकारात्मक भएको बताउँदै आएको छ ।
उता, लामानिकट मानिस तथा संस्थाहरूले चीनले ६ जुलाईमा दलाई लामाको ७८औँ जन्मदिन मनाउँदै गर्दा मानिसहरूलाई गोली हानेको बताएका छन् ।(source Naya Patrika)
No comments:
Post a Comment