२४ असार, काठमाडौं । नेकपा-माओवादीले वार्ता र आन्दोलनलाई सँगै लैजाने निर्णय गर्दै अध्यक्ष मोहन किरणको नेतृत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा बादल र सचिवद्वय नेत्रविक्रम चन्द विप्लव र देव गुरुङ सदस्य रहनु भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी नेकपा-माओवादीले निशर्त वार्ताको टेबलमा बसेर सबै विषयमा छलफल गर्न तयार रहेको भन्दै उच्चस्तरीय वार्ता टोली गठनको घोषणा गरेको हो । ‘हामीलाई सरकार र समितिबाट वार्ताका लागि आहृवान हुँदै आएको छ । हामीले सर्त राखेका थियौं, त्यो आफ्नो ठाउँमा छ । तर, हामी अब वार्ता गर्न तयार हुन्छौं । राजनीतिक समिति सबैसँग पनि वार्ता गछौं’ । सरकारसँग पनि वार्ता गर्न पनि तयार छौं’ बैद्यले भन्नुभयो-’तर, वार्तामा सर्त नराखियोस्, मंसिर ४ गतेको चुनाव नमानी वार्ता हुँदैन भनिएको छ, हामी त्यो मान्दैनौं । मंसिर ४ गते खारेज हुनुपर्छ ।’ साथै उहाँले आफूसँगै आन्दोलनरत दललाई पनि वार्तामा सहभागी गराउन माग गर्नुभयो । रणनीतिमा दृढता र कार्यनीतिमा लचकता अपनाउने रणनीति अनुसार नै वार्ताका लागि लचिलो भएको माओवादीले जनाएको छ । यसअघि सरकार र राजनीतिक समितिले वार्तामा बोलाएपनि बैद्य पक्षले चुनावी प्रक्रिया रोक्नु पर्ने लगायतका सर्त राख्दै आएको थियो । पछिल्लो पटक प्रमुख चार दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले आगामी मंसिर ४ का लागि तोकिएको निर्वाचन स्वीकार गरिए गोलमेच वा सर्वपक्षीय सम्मेलन गर्न सकिने बताएपछि बैद्यय माआवादी वार्तामा बस्न तयार भएको हो । बैद्य माओवादीले यथास्थितिमा हुने चुनाव भने सक्रिय र सशक्त बहिस्कार गर्ने बताएको छ । ‘हामीले निर्वाचन निरपेक्ष रुपमा बहिस्कार गर्ने भनेका हैनौं’ उहाँले भन्नुभयो-’११ बुँदे सहमति र बाधा अड्काउ फुकाउ आदेश, प्रधानन्यायाधीशको नेतृत्वमा सरकार खारेज हुनुपर्छ र सर्वपक्षीय गोलमेच सभा गरे दलहरुबीचबाट राष्ट्रिय सरकार बनाइयोस् भनेका छौं । हाम्रो कुरलाई पुरै अवज्ञा गरियो र विदेशी प्रतिक्रियावादीहरुको इशारामा प्रक्रिया अगाडी बढाइएको छ । यस अर्थमा हामी यथास्थितिमा चुनावमा भाग लिन सक्दैनौं यो एकदम ठिक र जायज छ ।’ बैद्यले आफूहरुको मोर्चामा रहेका ३३ दलसहित आन्दोलनरत शक्तिलाई सहभागी गराएर सर्वपक्षीय गोलमेच सभा गर्नु पर्ने र त्यहीबाट राष्ट्रिय सहमतिको सरकार बनाउने र कसरी संविधानसभाको अर्को निर्वाचन गर्ने भन्ने टुङ्गो लगाउनु पर्ने बताउनु भयो । गोलमेच सभामा अबको संविधान कस्तो बनाउने भन्नेबारे सहमति गरे पनि त्यहीबाट संविधान भने घोषणा नगर्ने उहाँको भनाई छ । साउन १० बाट बहिस्कार आन्दोलन बैद्य माओवादीले आगामी साउन १० गतेदेखि चुनाव बहिस्कार आन्दोलन थाल्ने घोषणा समेत गरेको छ । सुरुमा प्रचारात्मक कार्यक्रम गरिने र बहिस्कारको कार्यक्रम भने केन्द्रीय कार्यालय बनाउने महासचिव बादलले जानकारी दिनुभयो । बहिस्कार आन्दोलनको पक्षमा रहेका अन्य दलहरुसँग तालमेल गरिने उहाँले बताउनु भयो । महासचिव बादलले धेरैले पोखरा बैठकबाट माओवादी फुटेर आउँछन् भनेको तर, आफू एक भएर आएको बताउनु भयो । बलपूवक युद्धमा धकेलेर र आत्मसर्मपर्ण गराएर क्रान्तिकारी शक्तिहरुलाई सिध्याउने षड्यन्त्र भइरहेको उहाँको भनाई थियो । एकता कांग्रेस-एमालेलाई तर्साउने मेलो पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन बैद्य किरणले एमाओवादी र नेकपा-माओवादीबीचको पार्टी एकता हल्ला मात्र भएको बताउनु भयो । ‘माओवादीसँग एकता हुँदैछ, हामीले एक भएर चुनावमा जान्छौं’ भनेर एमाओवादीले कांग्रेस एमालेलाई तसाउने काम मात्र गरेको उहाँको भनाई छ । पार्टी एकताका लागि राजनीतिक लाइन, रणनीति, कार्यनीति लगायतका कुरा मिल्नु पर्ने तर आफूहरुको मिल्ने कुरा केही नभएको उहाँले बताउनु भयो । ‘एमाओवादीबाट हाम्रो एकता हुँदैछ, एकता हुँदैछ भनेर भनिँदैछ, यो कांग्रेस र एमालेलाई तर्साउने मेलो हो । चुनावमा हामी एकतावद्ध भएर जान्छौं । एकतावद्ध भएर गएपछि तिमिहरुलाई हराउँछौं भनेर तर्साउने भनिएको हो’ एकताको कुरा गर्नुको कारण खुलाउँदै उहाँले भन्नुभयो । उहाँले माओवादी कार्यकर्तालाई भ्रममा पार्न पनि एकताको हल्ला गरिएको बताउनु भयो । onlinekhabar.com
No comments:
Post a Comment