Tuesday, 20 August 2013

नारायणहिटीमै थलिइन् रत्न

पूर्वमुमाबडामहारानी रत्न शाह मंगलबारबाट ८६औँ वर्षमा प्रवेश गर्दै छिन् । उनी यतिवेला थलिएकी छन् । राम्रोसँग हिँडडुल गर्न सक्दिनन् भने हातगोडा दुख्ने र कटकटाउने रोगले उनलाई सताएको छ ।रत्न नारायणहिटीको महेन्द्र मञ्जिलमा एक्लो जीवन बिताइरहेकी छन् । जन्मदिन शुभकामना दिन पूर्वराजा ज्ञानेन्द्र शाहसहित शाही परिवार मंगलबार बिहान महेन्द्र मञ्जिल जाँदै छन् । गणतन्त्र कार्यान्वयन भएपछि पूर्वराजपरिवारले नारायणहिटी छाड्दा रत्नले त्यहीँ बस्ने इच्छा व्यक्त गरेकी थिइन् । पति महेन्द्रले रत्नलाई उपहार स्वरूप महेन्द्र मञ्जिल दिएका थिए । आफू बाँच्दासम्म महेन्द्र मञ्जिल नछाड्ने उनको इच्छाअनुसारै नारायणहिटीमै बस्न सरकारले अनुमति दिएको थियो ।
महेन्द्र मञ्जिलमा ०६६ सम्म रत्नसँग कुराकानी गर्न उनकी सासू त्रिुभवनकी भित्रिया रानी सरला मानन्धर जाने गर्थिन् । तर, सरलाको फागुन ०६६ मा निधन भएपछि रत्न एक्लिएकी छिन् । सरलाको निधनपछि दैनिक कुराकानी गर्ने सहारासमेत गुमेको रत्नका सुसारेहरू बताउँछन् ।चार वर्षअघि खुट्टामा घाउ हँुदा क्यान्सरको आशंकामा रत्न भक्तपुर क्यान्सर अस्पतालमा गएकी थिइन् । पूर्वराजा ज्ञानेन्द्रसहित उनी अस्पताल गएकी थिइन् । त्यसयता रत्नले महेन्द्र मञ्जिलमै धार्मिक कार्यक्रम र पूजापाठमै बिताउने गरेकी छन् । उनले हरेक एकादशीमा व्रत पनि लिने गरेकी छिन् ।
केही समयअघिसम्म उनी नारायणहिटी दरबारमा रहेको नारायणथान मन्दिर र नारायणहिटीपरिसरमै रहेको गणेशको मन्दिरमा नियमित पूजापाठ गर्ने गर्थिन् । तर, अहिले हिँडडुल गर्न गाह्रो भएपछि मन्दिर जान पनि छाडेकी छिन् ।
रत्न महेन्द्रकी कान्छी श्रीमती हुन् । उनले राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको शासन मात्र हेरिनन्, दरबारको अवसान र गणतन्त्र स्थापनाका दिन भोग्दै आएकी छिन् । रत्न राजसंस्था ढलेकोमा निकै दु:खी भएको उनका सुसारेहरू बताउँछन् । दरबार हत्याकाण्डको जीवित साक्षी पनि हुन् उनी । तर, यस घटनाबारे उनले केही बोलेकी छैनन् । 
रत्नको सुरक्षामा करिब दशजना सुरक्षाकर्मी छन् । उनीसँग दशजना सुसारे पनि छन् । सुसारेहरूलाई दिने तलब र रत्नको सबै खर्च निर्मलनिवासबाट व्यवस्थापन हुने गरेको छ । रत्नका ६ जना सुसारे ६० वर्ष नाघेका छन् । तीमध्ये दुईजना पुरुष छन् । सुसारेहरूको तलब मासिक चारदेखि ६ हजारसम्म छ । सरकारबाट सुविधा नपाएकोमा रत्नले गुनासो गर्ने गरेको सुसारेहरू बताउँछन् । नारायणहिटी दरबारमा पालिएको गाईको दूधसमेत रत्नले उपयोग नगरेको उनका सुसारेहरू बताउँछन् । धाराको पाइपलाइन पनि काटिएकाले महेन्द्र मञ्जिलमा ट्यांकरको पानी ल्याएर प्रयोग गर्ने गरिएको स्रोतको भनाइ छ । ‘रत्नलाई सरकारले अन्याय गरेको छ,’ पूर्वराजा ज्ञानेन्द्रका एक पूर्वस्वकीय सचिवले भने  पूर्वराजा ज्ञानेन्द्र शाह आमा रत्नलाई भेट्न प्राय: सोमबार बेलुका करिब ४ बजे जान्छन् । भेट्न गएका वेला ज्ञानेन्द्र करिब एक घन्टा बस्ने र एक कप चिया मात्र पिउने स्रोतको भनाइ छ । रत्नका नाति–नातिनीहरू भने मंगलबार भेट्न जाने गरेका छन् । छोराबुहारी, नाति–नातिनी र नजिकका केही नातेदारबाहेक अरूलाई भेट्न उनी मान्दिनन् । ‘मुमा महारानीबाट कसैलाई भेट्ने इच्छा गरिबक्सन्न । भेट्न खोज्नेहरू पनि अब त भेट्न प्रयास नै गर्दैनन्,’ एक सुसारेको भनाइ छ ।

No comments:

Post a Comment