Thursday, 22 August 2013

भरियो अख्तियारको हिरासत

भ्रष्टाचार आरोपमा धमाधम कर्मचारीलाई पक्राउ गर्न थालेपछि अख्तियारको थुनुवा–कक्ष भरिएको छ । अख्तियारको थुनुवा–कक्षमा नअटेका आरोपीलाई महानगरीय प्रहरी परिसर हनुमानढोका र वृत्त सिंहदरबार पठाइएको छ । 
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध–निर्देशक रामेश्वर यादवसहित विभिन्न निकायका ३७ कर्मचारी अहिले अख्तियारको नियन्त्रणमा छन् । जसमा प्राधिकरणका कर्मचारी र ठेकेदार गरी २४ जना, अध्यागमन विभागका पाँचजना, वैदेशिक रोजगार विभागका ६ जना र भन्सार विभागका दुईजना छन् । मंगलबार पक्राउ परेका प्राधिकरणका प्रबन्ध–निर्देशक यादवसहित १० उच्चपदस्थ कर्मचारीलाई अख्तियारले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पठाएको छ । त्यसअघि नै अख्तियारको थुनुवा–कक्ष भरिएको छ । अख्तियारको प्रहरी महाशाखाअन्तर्गत रहेको थुनुवा–कक्षको जम्मा क्षमता १४ जना मात्रै हो । ‘अख्तियारको थुनुवा–कक्षमा नअटेपछि केहीलाई हनुमानढोका र केहीलाई सिंहदरबार थुनामा पठाइएको छ,’ अख्तियारका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले भने ।
विभिन्न आरोपमा पक्राउ परेका भिआइपीलाई सिंहदरबारमा राखिन्छ । यहाँ अन्य स्थानमा भन्दा बढी सुविधा दिने गरिन्छ । सिंहदरबारमा प्राधिकरणका प्रबन्ध–निर्देशक यादवसहित पूर्वप्रबन्ध–निर्देशक जीवेन्द्र झा, पूर्वनिमित्त एमडी टीकाराम बिसी, पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा, निर्देशक महेशप्रसाद आचार्य, देव शर्मा पौडेललगायत मंगलबार पक्राउ परेका १० जनालाई राखिएको छ । अख्तियारको थुनुवा–कक्षमा अघिल्लो साता पक्राउ परेका विद्युत् प्राधिकरणकै १४ जनालाई राखिएको छ । यस्तै मंगलबार पक्राउ परेका अध्यागमन विभागका पाँच र वैदेशिक रोजगार विभागका ६ जना गरी ११ जनालाई हनुमानढोकामा राखिएको छ । अख्तियारको थुनुवा–कक्षमा रहेकालाई आफन्त भेट्न बिहान डेढ घन्टा र बेलुकी डेढ घन्टाको समय दिइएको छ । घरको खाना आए त्यही दिने र नआए अख्तियारले नै व्यवस्था गरिदिएको छ । यसैगरी सिंहदरबारमा राखिएका थुनुवालाई बिहान आठदेखि नौ बजे र बेलुकी चारदेखि पाँच बजे दिनमा दुई घन्टा आफन्तका लागि भेट्न दिइएको छ । सिंहदरबारमा रहेका थुनुवालाई घरबाट खाना नआए पैसा तिरेर प्रहरीकै मेसमा खाना खाने व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment