Monday, 5 August 2013

कोशीमा डुंगा पल्टिँदा २ को मृत्यु, ७० भन्दा बढी बेपत्ता


उदयपुर जिल्लाको पूर्वी भेगको चताराघाटस्थित सप्तकोसीमा सोमबार दिउँसो डुङ्गा पल्टदा दुई जनाको मृत्यु भएको छ। ७० भन्दा बढी बेपत्ता छन्। सुनसरीको बराहक्षेत्रबाट उदयपुरको मैनामैनीतर्फ आउँदै गरेको डुंगामा ९० भन्दा बढी यात्रु सवार थिए। डुङ्गा मैनामैनी ९ स्थित चताराघाटमा ३:१५ बजे पल्टिएपछि सबै यात्रु नदीमा डुबेका थिए।पारीबाट आएको डुङ्गा कोसीको बीच भागमा आइपुग्दा एक्कासि बढेको पानीको छालले पल्टाउन खोजेपछि आतिएका यात्रु किनारमा आइपुग्ने बेलामा हाम्फालेको प्रत्यक्षदर्शीले बताएका छन्। कोसीमा डुबेर बेपत्ता भएका सबै यात्रुमध्ये दुई जना महिलाको १०० मिटर तल तैरिएर अवस्थामा प्रहरीले फेला पारेको छ। इलाका प्रहरी रामपुरका निरीक्षक महेन्द्र थापाका अनुसार बाढीले डुङ्गा लरबराउन थालेपछि पल्ट्यो भन्दै यात्रु हाम्फाल्न थाल्दा झन् असन्तुलन भई डुंगा पल्टिएको थियो। मृतकमध्ये रामपुर ठोक्शिला ३ की अन्दाज ३४ वर्षीया पार्वती खड्का रहेको खुलेको छ। अर्को शवको सनाखत हुन सकेको छैन।
हाम्फाल्नेमध्ये पाँचजनाको स्थानीयले जिवितै उद्धार गरेका छन्। अन्य यात्रु बेपत्ता भएकाले खोजी कार्य जारी रहेको निरीक्षक थापाले बताए। उद्धारका लागि इप्रका ठोक्शिला, इप्रका बेल्टार र सदरमुकामबाट पनि टोली खटाइएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक अजय भट्टराईले नागरिकन्युजलाई बताए। प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठसहित सुरक्षा निकाय प्रमुखको टोली पनि घट्नास्थलतर्फ गएको छ । घट्नास्थल सदरमुकाम गाईघाटदेखि लगभग ८६ किलोमिटर पूर्वमा पर्दछ । 

No comments:

Post a Comment