इजिप्टका अधिकारीहरुले प्राविधिकरुपमा राज्यद्रोह जस्तो देखिने अपराधमा सत्ताच्युत गरिएका राष्ट्रपति मोहम्मद मोर्सीलाई थुनामा राख्न आदेश दिएका छन्। मोर्सीका समर्थक तथा विरोधीहरुले देशव्यापी प्रदर्शनको तयारी गरिरहंदा त्यस्तो आदेश दिइएको हो। मोर्सी विरुद्ध सन् २०११ मा तत्कालिन राष्ट्रपति होस्नी मुबारक विरुद्धको विद्रोहका क्रममा प्यालेस्टिनी उग्रवादी आन्दोलन हमाससंग मिलेर जेलहरुमा हमला गरी इस्लामवादीहरुलाई छुटाउने षडयन्त्र गरेको आरोप लगाईएको छ। जुलाई महिनाको शुरुमा सत्ताच्युत गरिएपछि मोर्सी सार्वजनिकरुपमा देखिएका छैनन् सेनाले शुक्रबारका विरोध सभाहरुमा हिंसात्मक घटनाहरु भए ती विरुद्ध कडा कदम चालिने चेतावनी दिएको छ। गत बुधबार इजिप्टको सेनाका प्रमुख जनरल अब्देल फतह अल सिसिले, उनकै शब्दमा हिंसा र आतंकवादसंग जुध्न सेनालाई जनादेश दिन ठूलो संख्यामा सडकमा ओर्लन जनसमुदायलाई आह्वान गरेका थिए। मोर्सीलाई सत्ताच्युत गरिएयता उनका समर्थक तथा विरोधीहरुबीच भएका झडपमा कैयौं मानिसहरुको ज्यान गैसकेको छ। उग्रवादीहरुले साइनाई प्रायद्वीपमा सांघातिक हमलाहरु पनि गरेका छन्। अन्तरिम राष्ट्रपति अदलि मन्सुरले मोर्सीले ल्याएको संविधानलाई संशोधन गरी सन् २०१४ को शुरुमा आम चुनाव गराउने योजना सार्वजनिक गरेका छन्। तर मुस्लिम ब्रदरहुडले उक्त योजनालाई अस्वीकार गरीदिएको छ।
No comments:
Post a Comment