Wednesday, 7 August 2013

भारतीय प्रधानमन्त्री मोदी : सर्वेक्षण

भारतमा सत्ताधारी कंग्रेस पार्टीले अबको निर्वाचनमा सरकार गठनका लागि पर्याप्त स्थान प्राप्त गर्न नसक्ने मंगलबार प्रकाशित एक सर्वेक्षणको नतिजामा देखिएको छ । सर्वेक्षणमा प्रमुख प्रतिपक्षी दलका उम्मेदवार तथा विवादास्पद हिन्दू कट्टरपन्थी नरेन्द्र मोदीलाई आउँदो प्रधानमन्त्रीका रूपमा रुचाइएको देखिएको छ । सर्वेक्षणमा उनले ३७.७ प्रतिशत सहभागीको समर्थन पाएका थिए ।
विभिन्न भारतीय टेलिभिजनले गरेको सर्वेक्षणमा मोदीका पक्षमा भारतीय जनता रहेको देखिएको हो । सर्वेक्षणको नतिजाअनुसार सन् २००९ मा संसद्को तल्लो सभामा दुई सय पाँच स्थान हासिल गरेको कंग्रेस पार्टीले अब जम्मा एक सय १९ स्थानमा विजय हासिल गर्नेछ । उता, संसद्मा बिजेपीले एक सय ३१ स्थान प्राप्त गरी सबैभन्दा ठूलो पार्टीको स्थान प्राप्त गर्ने देखिएको छ । संसद्का पाँच सय ४३ स्थानबाट सरकार गठन गर्न ठूला दलले साना तथा क्षेत्रीय दलको सहयोग प्राप्त गर्नु महत्त्वपूर्ण हुने सर्वेक्षणले देखाएको छ । सोनिया गान्धीका पुत्र राहुल गान्धीले प्रधानमन्त्रीका रूपमा १७.६ प्रतिशत जनताको समर्थन प्राप्त गरेको सर्वेक्षणमा देखिएको छ । वर्तमान प्रधानमन्त्री मनमोहन सिंहले भने जम्मा ६.२ प्रतिशत जनताको समर्थन प्राप्त गरेका छन् । त्यस्तै, सोनिया गान्धीलाई ३.९ प्रतिशत जनताको समर्थन रहेको सर्वेक्षणको नतिजामा देखिएको छ । सर्वेक्षणमा १३ हजार व्यक्तिले भाग लिएको र उनीहरूसँग जुलाई १८ देखि २४ सम्म प्रत्यक्ष अन्तर्वार्ता लिइएको सर्वेक्षण गरेका संस्थाले जनाएका छन् ।Source-Nayapatrika

No comments:

Post a Comment