बिबिसीका अनुसार संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीले प्यालेष्टिनी र इजरेलीहरु प्रत्यक्ष शान्ति वार्तामा फर्कन लागेका घोषणा गरेका छन्। ती दुई पक्षबीचको पछिल्लो वार्ता तीन वर्षअघि देखि स्थगित रहंदै आएको थियो। मध्यपूर्वको ६ दिने भ्रमणको अन्त्यमा जोर्डनमा बोल्दै विदेशमन्त्री केरीले वार्ताका बारे धेरै जानकारी त दिएनन् तर दुवै पक्षका प्रमुख वार्ताकारहरुले एक हप्ता भित्रै वाशिंटनमा बैठक गर्ने भने बताए | अमेरिकी विदेशमन्त्री केरी स्वदेश फर्कनु अघि, वार्ताको घोषणा गर्न हतार हतारमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। तर घोषणा गर्न पाउंदा उनी निकै आश्वस्त देखिन्थे किनकी हालैका महिनामा उनले इजरेली र प्लालेष्टिनी नेतृत्वलाई भेट्न धेरै पटक ओहोरदोहोर गरेका थिए। ती दुवै पक्षलाई एकै ठाउंमा ल्याउने आफ्नो पछिल्लो प्रस्तावका लागि उनले जोर्डनीहरु र अरब लिगको समेत सहयोग लिएका थिए। अन्तत: उनी केही दिन भित्रै दुवै पक्षबीच प्रत्यक्ष शान्ति वार्ता हुन लागेको बताउन सफल भएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै विदेशमन्त्री केरीले भने- “दुई पक्ष बीच लामो समय देखि विद्यमान मतभेदहरु रातारात समाधान होला र तिनीहरु निमिट्यान्न होलान् भन्नेमा कसैलाई विश्वास छैन।"“हामीलाई थाहा छ आगामी दिनमा वार्ताका सामू रहेका चुनौतीहरुले अप्ठ्यारा विकल्पहरु मात्र प्रस्तुत गर्दछन्। तर आज म आशावादी छु।“
बरु विदेशमन्त्री केरीले वार्ताहरु सफल हुनका लागि गोपनियताको आवश्यकता पर्नेमा जोड दिए। जसको अर्थ, इजरेलसंग वार्ता पुन: शुरु गर्नका लागि सन् १९६७ मा भएको युद्धविराम भन्दा अघिको अवस्थालाई आधार मानिनु पर्छ भन्ने प्यालेष्टिनी मागका सम्बन्धमा के भयो? र इजरेली सरकारले विना कुनै पूर्व शर्त वार्ता थालिनु पर्छ भनेर लिईरहेको अडान छाडेको हो की होइन भन्ने जस्ता विषयहरु हालका लागि स्पष्ट भैसकेका छैनन्।
No comments:
Post a Comment