
बोर्डका प्रवक्ता तथा प्रशासन अधिकृत अनुपम निरौलाले जानकारी गराएअनुसार बैठकले नेपाली चलचित्रमा रेग्मीको योगदान अविस्मरणीय रहेको तथा उहाँबाट आगामी दिनमा समेत यो क्षेत्रकै लागि योगदान रहने अपेक्षाका साथ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ५ लाख रुपियाँ उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको हो। बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिको सिफारिससमेतका आधारमा बैठकले सो निर्णय गरेको प्रवक्ता निरौलाले जानकारी गराए। बोर्ड अध्यक्ष मरवैता र कोष सञ्चालक समितिकी संयोजक वसुन्धरा भुसालले केही दिनभित्रै निर्देशक रेग्मीलाई उनकै अनामनगरस्थित निवास पुगी सो रकमको चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
अल्लारे, पाकेटमार, दागजस्ता दर्जनौं हिट फिल्मको स्क्रिप्ट लेखन कार्यपश्चात् २०५४ सालमा आफन्त नामक फिल्मबाट निर्देशन क्षेत्रमा सक्रिय रहँदै आएका रेग्मीले आफ्नो मान्छे, उपहार, पाहुना, दुनियाँ, सुखदुःख, ए मेरो हजुर, कहाँ भेटिएला, हामी तीन भाइ, हाँसिदेऊ एकफेरजस्ता थुप्रै फिल्मलाई आफ्नो निर्देशकीय क्षमताबाट हिट बनाएका छन्। शुरुमा नायक बन्ने इच्छा बोकेर यो क्षेत्रमा होमिएका निर्देशक रेग्मीले केही नाटकमा समेत अभिनय गरेका छन् भने मानिस नामक फिल्मको निर्माणसमेत गरेका छन्।
मृगौलाले काम गर्न छोडेपछि उनी छ महिनादेखि अस्पताल र निवासमै सीमित भएका छन्। अस्वस्थताकै कारण रेग्मीले यस अवधिमा फिल्मका कुनै काम गर्न सकेका छैनन् भने सार्वजनिक सभासमारोहमा उपस्थित हुन समेत सकेका छैनन्। परिवारको सहयोगमा घरमै डायलसिस गराइरहेका रेग्मीलाई उनका आफ्नै कान्छो भाइ सरोज रेग्मीले मृगौला दिँदै छन्।
‘किड्नी लिनेको मात्र होइन, दिनेको पनि लगातार विभिन्न चेकअप गरिरहनुपर्दो रहेछ’, रेग्मीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ’भाइको अधिकांश चेकअप भइसक्यो, अब उसको किड्नी मलाई कत्तिको सुट गर्छ भन्ने चेकअप हुँदै छ। त्यसपछि प्रत्यारोपणका लागि डेट फिक्स हुन्छ।’ रेग्मी महाराजगन्जस्थित शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराउँदै छन्।
चलचित्र विकास बोर्डले निर्माता तथा नायक अर्जुन कार्कीलाई पनि उपचार सहयोगका लागि २ लाख रुपियाँ उपलब्ध गराउने भएको छ। गत जेठ ५ गते सगरमाथाको आरोहण गर्ने क्रममा हिउँको चिसोको प्रभावले हालै दुवै खुट्टाका नौ औंला गुमाउन बाध्य उनको अदम्य साहसको कदर गर्दै उपचारका लागि उक्त रकम उपलब्ध गराइने निर्णय बोर्ड बैठकले गरेको हो।
No comments:
Post a Comment