Saturday, 20 July 2013

आमा बन्दै छिन् मिडल्टन

बेलायतमा अहिले सबैभन्दा ठूलो समाचार बनिरहेको छ, राजकुमार विलियमकी पत्नी केट मिडिल्टनको भुँडी । शाही परिवारमा नयाँ सदस्य आउन लागेको समाचारलाई ब्रिटिस मिडियाले कुनै असाधारण घटनाजसरी प्रचार गरिरहेका छन् । यहाँ मिडल्टन आमा बन्ने प्रसंगबारे मिडियामा आइरहेका रोचक कुरा प्रस्तुत गरिएको छ ।


– बच्चा जन्मिनुभन्दा पहिले कुनै प्रकारको सार्वजनिक सूचना दिइने छैन । जब लन्डनस्थित सेन्टमेरिज अस्पतालको विशेष कक्षमा ‘डचेज अफ क्याम्ब्रिज’ खुकुलो हुन्छिन्, अनि मात्र ‘खुसीको खबर’ सार्वजनिक गरिनेछ ।

– अस्पतालका ६ भिभिआइपी डेलिभरी कक्षमध्ये एकमा केटले सम्भवत: प्राकृतिक रूपले नै बच्चा जन्माउनेछिन् । यस कक्षको शुल्क एक रातको चार हजार नौ सय ६५ पाउन्ड रहेको छ । यही कक्षमा राजकुमारी डायनाले प्रिन्स विलियम र ह्यारीलाई जन्म दिएकी थिइन् ।

– अस्पतालको यस विंगमा रहेका प्रत्येक कक्षमा स्याटेलाइट टिभी, रेडियो, इन्टरनेट र दैनिक अखबारको सुविधा हुन्छ । साथै, विश्वभरका थरीथरीका मदिराको सूची पनि यहाँ राखिएको हुन्छ, ताकि बाबुआमालाई इच्छा लागेमा उनीहरूले बच्चाको टाउको कुनै विशेष वाइनले भिजाउन सक्छन् ।

– स्थानीय वेस्टमिनिस्टर काउन्सिलले अस्पतालबाहिर पार्किङ सुविधा बन्द गरेको छ । पार्किङको ठाउँमा इभेन्ट एस ०६०१८६७ अर्थात् शाही जन्मको बोर्ड लगाइएको छ ।

– शाही परम्पराअनुसार जब बच्चाको जन्म हुन्छ, अस्पतालको एक सहायक मेडिकल टिमले हस्ताक्षर गरेको बुलेटिन बाहिर प्रतीक्षामा रहेका ड्राइभरलाई दिइन्छ । शाही ड्राइभर बुलेटिन लिएर सोझै बकिंघम दरबार आउँछन्, जहाँ आमजनतालाई देखाउन सुनको पाटीमा सूचना टाँसिन्छ । यस सूचनामा बच्चाको लिंग, वजन र जन्मको समय पनि उल्लेख गरिएको हुन्छ ।

– राजकुमार विलियमले हजुरआमालाई आफैँले भेटेर जानकारी गराउने सम्भावना छ । शाही दम्पतीका निजी सचिवले देशका प्रधानमन्त्रीलगायत अन्य भिआइपीलाई जानकारी गराउँछन् । शाही अधिकारीले ५४ वटा राष्ट्रमण्डलीय देशका प्रमुख तथा स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका फस्र्ट मिनिस्टरलाई सन्देश पठाउँछन् ।

– यही समयमा ट्विटरबाट पनि घोषणा गरिन्छ । नयाँ शाही सदस्यलाई स्वागत गर्न हाइड पार्कमा ४१ तोपको सलामी दिइनेछ ।

– बच्चाको नाम भने तत्कालै घोषणा नहुन सक्छ । सन् १९८२ मा विलियमको जन्म हुँदा उनको नाम थाहा पाउन जनताले एक हप्ता पर्खिनुपरेको थियो ।

– भावी राजा या रानीलाई सरकारी पदवी दिइनेछ । उनलाई ‘हिज या हर रोयल हाइनेस’ अथवा प्रिन्स या प्रिन्सेस अफ क्याम्ब्रिज भनिनेछ ।
एजेन्सी

No comments:

Post a Comment